शारदा मल्ल,१८ माघ
माघको पहिलो हप्ता भगवान रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दिरको भब्य प्राणप्रतिष्ठा भयो । विश्वभरिका हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र राममन्दिरको प्राण प्रतिष्ठाले विश्वभरि चर्चा पायो । भगवान राम जन्मेको अयोध्यामा विश्वभरिका हिन्दुहहरुको ध्यान केन्द्रित हुदा रामकै अर्धाङ्गनी सीता बसेको तथा उहाका छोराहरु लव र कुश हुर्किएको बाल्मिकी आश्रममा भने कुनै चहलपहल छैन ।
रामायणको महत्वपूर्ण पाटोको रुपमा रहेको हाल नेपालमा पर्ने बाल्मिकी आश्रम संरक्षणको पर्खाइमा रहेको छ । चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर १ मा पर्ने यो आश्रमबारे नेपालीहरु नै अनविज्ञ रहेका छन् । नेपालमै रहेको बाल्मिकी आश्रम पुग्नलाई भारत हुदै जानुपर्ने बाध्यता रहेको छ ।

महर्षि वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेको र लव, कुशलाई जन्म दिएको विश्वास गरिन्छ । यहाँ महर्षि वाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाणहरु यत्रतत्र छरिएर रहेका छन् तर त्यसको संरक्षणको प्रयास भएको देखिँदैन । वाल्मीकि आश्रमलाई भारतीयहरुले ठूलो तीर्थस्थलको रुपमा मान्ने गरेका छन ।
नेपालमा रहेको बाल्मिकी आश्रममा ठूलो संख्यामा भारतीयहरु आउदा नेपालीहरु भने नगण्य रुपमा पुग्ने गरेका छन् । “यहा आउने ९९ प्रतिशत श्रद्धालु भारतीय हुन, फाट्टफुट्ट रुपमा नेपालीहरु पुग्ने गरेका छन् ।” स्थानिय रामशरणले भन्नुभयो “यसको प्रमुख कारण भारत हुदै आश्रम जानुपर्ने बाध्यता नै मूख्य हो ।”
हालै मात्र त्रिवेणीधाममा बाल्मिकी आश्रमलाई लक्षित गरि झोलुङ्गे पुलको निर्माण भएको छ । तर बाटो नै नभएको निर्माण भएको पुल सदुपयोग हुने कि नहुने भन्नेमा नै अन्यौल रहेको छ ।

राम बनबास बसेर अयोध्या आएपछि माता सीतालाई पुनः दोश्रो पटक बनबास पठाईएको स्थान हो बाल्मिकी आश्रम । आश्रममा रहनुभएका पुजारी शेखर सुवेदीका अनुसार आश्रम वरिपरि त्रेतायुग कालीन बिभिन्न अवशेषहरु देख्न सकिन्छ । सीता माताको सिलौटो, उहाले कन्दमूल खाने स्थान, अमृत कुवाँ, लब–कुश जन्मिएको स्थान, लब–कुश पढेका स्थान, विश्वमित्रले देहत्याग गरेको स्थान, लब–कुशले अश्वमेध यज्ञको घोडा बाधेको स्थान देखि माता सीता पाताल गएको स्थानहरु यहा रहेका छन् ।
जङ्गलमा यत्रतत्र छरिएर रहेका यी महत्वपूर्ण ऐतिहासिक सम्पदाहरुको भने संरक्षणको अभाव देखिएको छ । आश्रममा आउने श्रद्धालुहरुको प्रत्यक्ष पहँुचमा रहेका यी सम्पदाहरु कुनै पनि बेला नाशिएर जाने खतरा रहेको छ ।
आश्रमका पुजारी सुवेदीका अनुसार तत्कालीन राजा महेन्द्रले बाल्मिकी आश्रमका लागि १२ बिगाह जमिन छुट्याउनु भएको थियो । तर हाल बन क्षेत्रमा रहेको भन्दै त्यहा आश्रमले कुनै पनि काम गर्न पाएको छैन ।
आश्रमको वरिपरी ३ वटा पुरानो घर, सशस्त्र प्रहरीको बीओपी रहेको छ । बाल्मिकी आश्रममा २ वटा नयाँ मन्दिर बनाइएको छ भने एउटा पुरानो मन्दिर रहेको छ । त्यहाँ फूल प्रसाद बेच्ने मान्छे मात्र देखिन्छन् । बाल्मिकी आश्रम जस्तो ऐतिहासिक ठाउँ पुरै ओझेलमा परेको छ । राज्यको आँखामा पर्न सकेको छैन । विजुली छैन, उक्त ठाउँमा सोलार भने देख्न सकिन्छ । आश्रममा भएको शसस्त्र प्रहरीलाई मोबाईल चार्ज गर्न पनि अन्यत्र जानुपर्छ भने सञ्चार सेटले पनि काम गर्दैन । बिद्यालय, स्वास्थ्य चौकी देखि प्राथमिक आवश्यकतामा पर्ने शौचालयहरुको समेत अभाव रहेको छ । खानेपानी तथा बाटोको समस्या पनि त्यस्तै रहेको छ ।
नेपालतर्फ बाटो खुलेको भए बाल्मिकी आश्रम जान पैसा तिरेर दुःख झेलेर भारतीय भूमि प्रयोग गर्नु नपर्ने आश्रमका पुजारी सुवेदी बताउनुहुन्छ । गजेन्द्र मोक्ष धाम क्षेत्रबाट बाटो खोल्न सके ३ किलोमिटर दूरीमै नेपाल तर्फबाट बाल्मिकी आश्रम पुग्न सक्ने उहाको दाबी छ ।
पश्चिम नवलपरासीका पूर्व सांसद तथा पुर्व गृहराज्य मन्त्री रहनुभएका देवेन्द्रराज कंडेलले बाल्मिकी आश्रममा धेरै नेताहरुले आश्वासन दिए पनि ब्यवहारमा लागु हुन नसकेको गुनासो गर्नुभयो । उहाले रामायण सर्किटको विकास गरि त्यसमा बाल्मिकी आश्रमलाई पनि समेटनुपर्ने धारणा राख्नुभयो । यसको लागि सरकारले कुटनैतिक तवरले पहल गर्नुपर्ने उहाको भनाई छ । तर त्यसभन्दा पहिला यसको संरक्षण हुनुपर्ने उहाको भनाई छ ।

“रामको जन्मस्थल अयोध्या आउने पर्यटकहरुलाई लब–कुशको जन्मस्थल र माता सीता पाताल गएको स्थानबारे पनि जानकारी हुनु आवश्यक छ ।” कंडेलले भन्नभयो “तर हामीले यसलाई संरक्षणर्क अभावमा पहिचान दिलाउन सकेका छैनौं ।”
बाल्मिकी आश्रम सम्म आउने झोलुङ्गे पुल तयार भए पनि चितवन राष्ट्रिय निकुञ्जको कारण यसको सदुपयोग हुन नसकेको उहाले बताउनुभयो । पर्यटकको प्रचुर सम्भावना रहेको बाल्मिकी आश्रममा सबैको सहकार्यले रामायण सर्किटकै रुपमा अगाडी बढाउनु पर्ने उहाको जिकिर छ ।
भारतमा राम मन्दिरको प्राण प्रतिष्ठा संगै नेपालमा रहेको बाल्मिकी आश्रमबारे नेपालीहरुको चासो बढेको छ । नेपालीहरु आश्रमको भ्रमण गर्ने मनस्थिती बनाईरहेका छन् । भैरहवाबाट बाल्मिकी आश्रम पुग्नुभएका सिद्धार्थ अग्रवालले बाल्मिकी आश्रमको अवश्था दयनिय रहेको बताउनुभयो । “अयोध्यामा भएको राम मन्दिरको प्राण प्रतिष्ठा पछि बाल्मिकी आश्रम हेर्ने ईच्छा थियो, तर यहा आउदा धेरै दुःख पाए ।” उहाले भन्नुभयो “नेपाल तर्फ निकुञ्जले बाटो दिएको छैन रे, विकास संगै संरक्षण नै नपाएर उहा समस्या रहेको छ ।”
रामायण सर्किटको कुराहरु उठिरहेको र जनकपूर सम्म रेल नै पुगेको अवश्थामा बाल्मिकी आश्रम साईकलमा समेत पुग्न सक्ने अवश्था नरहेको भन्दै उहाले दुःख ब्यक्त गर्नुभयो । नेपालका सम्बन्धित निकायहरुले यहा ध्यान दिन अग्रवालले आग्रह गर्नुभयो ।

ऐतिहासिक बाल्मिकी आश्रम संरक्षणको पर्खाइमा छ, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वन मन्त्रालयले तत्काल कदम चालेर संसारकै प्रसिद्ध ठाउँ बाल्मिकी आश्रमलाई प्रवद्र्धन गर्न जरुरी रहेको सरोकारवालाहरुको सुझाव रहेको छ । बाल्मिकी आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारीपट्टी भारतको बाल्मिकी नगर हुदै जानुपर्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

