पार्वती आचार्य
कपिलवस्तु माघ १७
कपिलवस्तु नगरपालिकाले अस्थायी रुपमा छाडाचौपाया व्यवस्थापन गरेपछि कपिलवस्तु नगरपालिकालाई किसानहरुले धन्यवाद दिएका छन् । बिकराल रुपमा रहेको छाडाचौपायाले किसानहरुले लगाएको खेतीपाती किसानहरुले स्याहार्न नपाएको दवाव आएपछि गत मंसिर २० गते देखि पालिकाको वडा नं. ८ स्थित दोहोनीमा व्यवस्थापन गरेको छ । दोहोनी स्थित कम्पाउण्ड गरिएको ठुलो क्षेत्रफलमा कपिलवस्तु नगरपालिकाले १२ वटै वडामा देखिएका छाडाचौपायाहरुलाई अव्यवस्थित रुपमा व्यवस्थापन गर्दै आएको नगरपालिकाले जानकारी दिएको छ ।
उक्त स्थानमा हाल १ हजार बढी छाडाचौपायाको रुपमा रहेका गाईगोरुहरुलाई व्यवस्थापन गरिएको छ । अव्यवस्थित रुपमा व्यवस्थापन गरे पछि चौपायाहरुलाई रेखदेख गर्नको लागि ५ जना हेरालु समेत राखिएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताउनु भयो । हाल अस्थायी व्यवस्थापन गरिएको छ चरिचरणको व्यवस्थापनको लागि प्रधानमन्त्री संग ज्ञापनपत्र बुझाई जंगल माग गरिएको छ सो उपलब्ध भयो भने जिल्लाका सम्पूर्ण छाडाचौपायाहरुलाई स्थायी रुपमा व्यवस्थापन गरिने मेयर पौडेलले जनाउनु भयो । 
जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बिकराल रुपमा रहेको छाडाचौपायालाई व्यवस्थापन गर्न दश स्थानियतहलाई नै ताकेता गरे पश्चात कपिलवस्तु नगरपालिकाले वडा नं. ८ को दोहोनीमा अस्थायी रुपमा व्यवस्थापन गर्दा किसानहरुलाई राहत भएको बताउनु भयो । छाडाचौपायाहरुलाई व्यवस्थापन गरेपछि दुर्घटनामा कमी आउनुका साथै छाडाचौपायाहरुबाट बाटोमा हुने फहोरमा समेत कमी आएको बताउँनु भयो । गहुँबालि नभित्राउञ्जेल सम्म अस्थायी रुपमा चौपाया व्यवस्थापनले किसानहरुलाई राहत भएको छ भने स्थायी रुपमा व्यवस्थापनका लागि स्थानियतहसंग समन्वय भैरहेको प्रमुख आचार्यले बताउनु भयो ।
यस्तै वडानं. ३ का वडा अध्यक्ष तथा छाडाचौपाया व्यवस्थापन समितीका संयोजक प्रकाश गैरेले अस्थायी रुपमा भए पनि छाडाचौपायाहरुलाई व्यवस्थापन गरेपछि किसानहरुले मेहेनत गरेर लगाएको खेती जोगिनुका साथै दुर्घटनामा समेत कमी आएको बताउनु भयो । बाटोभरि छाडाचौपायाको मलमुत्रले फोहोर देखिने नगरमा सुधार भएको छ र बिद्यालय आउँदा जाँदा बालबालिकाहरुलाई समेत छाडाचौपायाहरुले हान्दिन्छन् भन्ने अभिभावकहरुलाई डर थियो अहिले त्यस किसिमको डर छैन र किसानहरु पनि छाडाचौपाया व्यवस्थापन भएपछि खुशी भएको वडा अध्यक्ष गैरेले बताउनु भयो ।
कम्पाउण्ड भित्र व्यवस्थापन गरिएका चौपायाहरुलाई पराल र पानीको व्यवस्थापन गरिएको छ । छाडाचौपाया व्यवस्थापनका लागि पाँचजना हेरालु खटाईएको छ । चौपायाहरुलाई दिनमा रु. ५० हजार रुपैंया बराबरको खर्च नरपालिकाले गर्दै आएको छाडाचौपाया व्यवस्थापनका संयोजक गैरेले बताउनु भयो ।
माघ १४ गते इन्सेक प्रतिनिधि , मानव अधिकार समूह कपिलवस्तु नगरपालिकाका अध्यक्ष पुस्पा रेग्मी र समूहका सदस्य कृष्ण अग्रहरीको टोलिले अव्यवस्थित छाडाचौपाया व्यवस्थापनको स्थलगत अनुगमन गरेको थियो । सो अवसरमा किसान त्रियोगी कुर्मी , क्षेदी धोवी र बसन्त बारीले छाडाचौपायालाई अस्थायी रुपमा भएपनि कपिलवस्तु नगरपालिकाले किसानहरुको समस्या र मिहिनेतलाई बुझेर चौपाया व्यवस्थापन गरेकोमा धन्यवाद दिएका छन् ।
रातभरि अनिद्रामा बस्दा पनि आफूले लगाएको खेती स्याहार्न नपाएका हामी किसानहरु मंसिर २० गते देखि ढुक्क भएको र हिंउँदै वालि राम्रोसंग स्याहार्न पाउने आशामा रहेको भन्दै कपिलवस्तु नगरपालिका परिवार प्रति खुशी व्यक्त गरेका छन् । 
मानव अधिकार समूहका अध्यक्ष पुस्पा रेग्मीले किसानहरुले साहुसंग रिऋ लिएर बिउ खरिद , मलखादको खरिद गरेका किसानहरुले लगाएको खेती स्याहार्न नपाउनु दुखको बिषय रहेको बताउनु भयो । छाडाचौपाया व्यवस्थापनको लागि इन्सेक , मानव अधिकार समूहले प्रमुख जिल्ला अधिकारी मार्फत कपिलवस्तु नगरपालिका लगाएत जिल्लाका १० स्थानियत तहलाई छाडाचौपाया व्यवस्थापन गर्न असोज ११ गते ध्यानाकर्षण पत्र बुझाएको थियो ।
मंसिर २० गते सोको अस्थायी रुपमा कार्यान्वयन भएको छ भने यसलाई स्थायी रुपमा व्यवस्थापन गर्न जरुरी भएको बताउनु भयो । अनुगमनका क्रममा साढें र साना बाच्छीहरु एकै कम्पाउण्ड भित्र रहँदा साँढेबाट बाच्छीहरु जोखिममा परेको पाईएको हुँदा छुट्टा छुट्टै व्यवस्था हुनुपर्ने रेग्मीले बताउनु भयो ।
नगरपालिकाले ५ जना हेरालु मार्फत जानकारी लिई बिरामी चौपायाहरुलाई उपचार गर्दै आएको नगरपालिकाले जनाएको छ । हेरालु सफिक खानले राष्ट्रिय जनावरको रुपमा मानिने गाईकोे सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

