Rashtriya Dainik

शिक्षामा गुणस्तरियता ल्याउन किताबी ज्ञानसंगसंगै खेलकुद पनि अनिवार्य : अध्यक्ष चाैधरी

राष्ट्रिय दैनिक / नवलपरासी ,११ माघ

पालिका भित्र रहेका हरेक शैक्षिक संस्थाहरुको शिक्षण सिकाईलाई प्रभावकारिता प्रदान गर्न र शिक्षामा गुणस्तरियता ल्याउन किताबी ज्ञानसंगसंगै खेलकुद पनि अनिवार्य रहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ६ स्थित जनता मावि भुजहवामा सरावल गाउँपालिका स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले शारीरिक र मानसिक रुपमा स्वस्थ भएका बिद्यार्थीहरुले मात्र आफुलाई अनुशासित, सभ्य र असल ब्यबहार देखाउने र तिनै बिद्यार्थीहरुबाट शैक्षिक कृयाकलापलाई अझ प्रभावकारी रुपमा सहजै ग्रहण गर्ने बताउनुभयो ।
अध्यक्ष चौधरीले सरावल गाउँपालिकाले शैक्षिक गुणस्तर र पूर्वाधारयुक्त शैक्षिक संस्थाको लागि जोड दिंदै आएको बताउनुभयो । शिक्षासँगै खेल क्षेत्रलाई जोडेर विद्यालय तहबाट खेलाडि उत्पादन गर्न गाउँपालिकाले प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । भलिवल, कबड्डी लगायतका खेलमा सरावलले अब्बल स्थान हासिल गर्दै आएको बताउँदै उहाँले सरावललाई खेल क्षेत्रबाट चिनाउन खेलाडी उत्पादनका लागि विभिन्न विधामा विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि शिक्षा र खेल क्षेत्रलाई प्राथमिकता दिएर गाउँपालिका अघि बढ्ने बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले खेलकुदको माध्यमबाट एक बिद्यालयको अनुभव अर्को बिद्यालयले सिक्न पाउने र एक आपसमा हुने आदान प्रदानले पालिकाको हरेक बिकास र योजनामा साझेदार गर्न सकिने बताउनुभयो ।


त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले खेलको माध्यमबाट व्यक्तिको स्वस्थ राम्रो हुनुका साथै यहाँबाट उत्पादन हुने खेलाडिले आफ्नो क्षमता प्रदर्शन गरि प्रदेश, राष्ट्र र अन्तराष्ट्रिय स्तरमै ख्याति कमाउन सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । खेल क्षेत्रको विकासमा गाउँपालिका निरन्तर लागिरहने पनि उहाँले बताउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सरावल गाउँपालिका ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, वडा नम्बर ७ वडा अध्यक्ष हेयात खाँ धनिया ,गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रेम थापा, शिक्षा समिति सदस्य देव नारायण चाैधरी,विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण यादव लगायतकाे सहभागीता रहेको थियो ।

१८ वर्ष मुनिका विद्यार्थी सहभागि रहेको यस प्रतियोगितामा सरावल गाउँपालिका अन्तरगतका १६ विद्यालयका करिब एक हजार विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी तथा एथलेटिक्स अन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, जेभलिङ थ्रो, सटफुट लगायतका ईभेन्टमा छात्र र छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियोे ।

प्रतियोगितामा जनता मा.बि भुजहवा १० स्वर्ण , ७ रजत र ६ कांस सहित प्रथम स्थान हासिल गरेको हाे । त्यस्तै जनता मा.बि मनरी ७ स्वर्ण ७ रजत र ४ कांस सहित द्धितीय स्थान हासिल गरेको हाे । त्यस्तै बसन्त मा.बि बासा ५ स्वर्ण ३ रजत र ७ कांस सहित तृतीय स्थान हासिल गरेको हाे ।


प्रतियोगितामा बिजेता हुने विद्यालय र विद्यार्थीलाई सिल्ड , मेडल , कप र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै द्धितीय र तृतीय हुनेलाई पनि सम्मान सहित पुरस्कार प्रदान गरिएको थियोे । पालिका अध्यक्ष चाैधरीले अगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जनता मा.बि मनरीमा सन्चालन हुने बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित