Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा बजार अनुगमन : व्यवसायी दर्ता, नविकरण, मुल्य सूची भेटिएन

उमेश बि.क / नवलपरासी ,५ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका भित्रको मुख्य बजार क्षेत्र अनुगमन गरेको छ।

शुक्रबार पालिकाको वडा नम्बर ४ ,५ ,६ र ७ को खाद्यान्य र दैनिक उपभोग्य बस्तुको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा पसलहरु दर्ता बिना संचालन गरिएको र म्याद गुज्रिएका सामानहरु फेला पारेको छ । साथै अनुगमन टोलिले एउटै पसलमा विभिन्न थरिका सामानहरु बेच्ने गरेको जनाएको छ ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजनको नेतृत्वमा भएको अनुगमनमा याेजनाशाखा प्रमुख ईश्वरी प्रसाद खनाल , प्रशासनशाखा प्रमुख देशकान्त बस्याल , स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटा ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख खेम खनाल ,लघु उद्यम बिकास शाखा प्रमुख राजन बस्याल , घरेलु तथा साना उद्योग नवलपरासीको मनाेज चाैधरी तथा प्रहरी चौकी प्रमुख , नगर प्रहरी एवं पत्रकार लगाएतकाे सहभागितामा व्यवसाय अनुगमन गरिएको हो ।

अनुगमन टाेलिले किराना पसल, कस्मेटिक पसल, होटेल, फेन्सी, ब्युटीपार्लर, हार्डवयर, मेडिकल, एग्रोभेट, पसलहरुमा अनुगमन गरेको हो ।

दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, दर्ता , नविकरण तथा मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको हाे ।

बजार अनुगमनको क्रममा पसलहरुलाई म्याद सकिएका सामानहरु तत्काल हटाउन र म्याद नसकिएको सामान मात्र बिक्री वितरण गर्न टोलीले निर्देशन दिएको छ ।


अनुगमन समितिले थोक बजारमा रहेका पसलहरूले प्रमाणपत्र नराखेको, बिक्री विजक जारी नगरेको भेटिएपछि प्रमाणपत्र राख्न निर्देशन दिइएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

अनुगमनको क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको अध्यक्ष चाैधरीले बताउनुभयो ।

गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको पालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो । पसलहरू पालिकामा सूचीकृत नभएको, साइन बोर्ड नभएको, नवीकरण नगरिएको, मूल्यसूची नभएको, खाद्य र अखाद्य वस्तु छुट्टाछुट्टै व्यवस्थापन नगरिएको, म्याद गुज्रिएका सामानहरू भेटिएको, मदिराजन्य पदार्थ इजाजतविना बिक्री–वितरण गरिएको, फेन्सी पसलमा गुणस्तरीय सामग्री र गुणस्तरहीन सामग्रीको व्यवस्थापन नगरिएको, खरिद बिल नभेटिएको, कास्मेटिक पसलमा फेन्सी सामग्री राखेर बिक्रीवितरण गरेको भेटिएको पालिका उपाध्यक्ष हरिजनले बताउनुभयो ।


गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि सरावल गाउँपालिकाले बजार अनुगमनलाई नियमित गर्ने जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित