उमेश बि.क / नवलपरासी ,१ माघ
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका २ मनरीमा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे आयाेजनामा तथा सरावल गाउँपालिकाकाे सहयोगमा १८ औं खिचडी माघी महाेत्सव मेला सन्चालनमा रहेको छ।

साे मेलामा ‘थारु घर’ प्रदर्शनी स्थल राखिएको छ । त्यस स्थानमा थारु खानाको परिकार सहित थारु संग्रहालयसहितको छुट्टै ‘थारु घर’ बनाइएको छ ।
थारुघर प्रदर्शनीले थारु संस्कृति,कला,परम्पराको बारेमा पछिल्ला पुस्तालाई अवगत हुने सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो।

‘पछिल्लो समयमा हाम्रो परम्परागत थारु संस्कृति लोप हुने अवस्थामा पुगेको छ । पछिल्ला पुस्तालाई हाम्रो संस्कृतिको बारेमा जानकारी छैन् ।’ वहाँले भन्नुभयो ‘थारुघर प्रदर्शनीले संस्कृति संरक्षण, प्रवद्र्धनकासाथै नयाँ पुस्तामा यसबारे जानकारी हुने विश्वास लिएका छौँ ।’ वहाँले थप्नुभयाे ‘यसबाट थारु जातिसँगै अन्य जातिका मान्छेले पनि हाम्रो रहन सहन, कला, संस्कृति, खानपानको बारेमा बुझ्न र देख्न पाउने छन् ।’

थारुघर प्रदर्शनी स्थलले साच्चिकै थारुगाउँको झल्को दिने र पुराना सामानहरु देखिन सकिने वहाँकाे भनाइ थियो । त्यहाँ राखिएको संग्रहालयमा थारु संस्कृति झल्किने विभिन्न सामग्रीहरु राखिएका छन् । संग्रहालयमा ढकिया, गाडा, जाल,हेल्का (माछा मार्ने साधन),डिलिया (माछा राख्ने भाँडो) ढिकी,पिर्का,ढोकनी,आडा लगायतका सामानहरु राखिएको बताउनुभयो ।

त्यस्तै थारु मिलन केन्द्रका अध्यक्ष राधेश्याम चाैधरीले मेला स्थलमा परम्परागतदेखि आधुनिक थारु नृत्य,गीत प्रस्तुत गरिने बताउनुभयो । मेलामा थारु मौलिक परिकार पाइने स्टलहरु पनि राखिएकाे बताउनुभयो।

छुट्टै पहिचान बोकेको थारु संस्कृति संरक्षणका लागि ‘थारुघर’ मेला स्थल राखिएको थारु मिलन केन्द्रका अध्यक्ष राधेश्याम चाैधरीले बताउनुभयो । ‘थारु समुदायको आफ्नै कला,संस्कृति छ । खानपान,रहन सहन छ ।” वहाँले भन्नुभयो ‘त्यसलाई पनि जोगाउनु पर्छ भन्ने हाम्रो उदेश्य हो ।’ पुस २९ गते बाट सञ्चालित महोत्सव माघ २ गतेसम्म सञ्चालन हुने आयाेजकले जानकारी दिइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

