रुपन्देही ,२१ पुस
कपिलवस्तुमा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलिएको छ ।
अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्क्याएको आरोप लगाउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा दुई जनालाई कालोमोसो दलिएको हो ।
महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले दुई जनालाई कालोमोसो दलेका हुन् ।
७० जना महाकालका कार्यकर्ता र स्थानीयले प्रहरी कार्यालय नजिकैको घरमा रहेका क्रिश्चियन धर्म प्रचारक कृतिराज ढुंगेल र उनका सहयोगी मनोज कहाँरलाई कालो मोसो दलेको स्थानीयले बताएका छन् ।
आफूहरू जनवरी २२ मा अयोध्या राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको कार्यक्रमलाई सफल पार्ने सन्दर्भमा तौलिहवा आएका बेला स्थानीयबाटै क्रिश्चियन धर्मको प्रार्थनाबारे जानकारी पाएको महाकाल युवा शक्ति नेपालका केन्द्रीय सचिव प्रेम योगीले बताए ।
हिन्दू समुदायका अबोध बालबालिकालाई बाइबल पाठ गराइराखेको र स्थानीय महिलालाई उपचारको नाममा प्रभाव पारेर प्रार्थना गराएको खबर पाएपछि आफूहरू त्यहाँ पुगेको उनले जानकारी दिए ।
‘स्थानीयले खबर गरेपछि हामी महाकालका ७० जना कार्यकर्ता त्यहाँ पुगेका थियौ । अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पढाउँदै गरेको र महिलाहरूलाई प्रार्थनाले रोग निको हुने आश्वासन दिएको भेटेपछि स्थानीयले कालोमोसो दलेका हुन्’ सचिव योगीले भने ।
राष्ट्रमा सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता भए पनि अरूको धर्ममा प्रभाव पार्ने छुट कसैलाई नभएको जनाउँदै यस्ता कार्यको प्रतिवाद हुन आवश्यक रहेको महाकाल युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष धर्मराज विकले बताए ।
घटनाबारे जानकारी पाएपछि तत्कालै प्रहरीले कालोमोसो दलिएका व्यक्तिको उद्धार गरेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
महाकालका कार्यकर्ता र स्थानीयले कालोमोसो दलेर नगर घुमाउने योजना बनाउँदै गर्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले तत्काल उद्धार गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

