Rashtriya Dainik

एक वर्षमा भारतबाहेक ८५ देशका ७६ हजार विदेशी पर्यटक लुम्बिनीमा

लुम्बिनी — गएको सन् २०२३ मा विश्वका ८५ देशका ७६ हजार २ सय १० विदेशी पर्यटक र तीर्थयात्रीले शान्तिस्थल लुम्बिनीको भ्रमण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसदेखि आध्यात्मिक गुरु मुरारीबापुसम्म लुम्बिनी पुगे ।

छिमेकी मुलुक चीनमात्रै होइन, यहाँदेखि १७ हजार ७ सय ६५ किमि टाढाको चिलीसम्मका पर्यटक र तीर्थयात्री लुम्बिनी आएका छन् । सन् २०२३ मा चीनबाट ६ हजार १ सय १३ पर्यटक लुम्बिनी आएकामा चिलीबाट २६ जना आइपुगेका थिए । रुसी आक्रमणले तहसनहस भएको युक्रेनका ३४ पर्यटक पनि शान्तिको खोजी गर्दै लुम्बिनी आइपुगेका थिए ।

कोरोना महामारीपछि लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आवागमन बढ्न सकेको थिएन । २०२२ मा ९६ मुलुकका २३ हजार ९ सय ९२ विदेशी पर्यटक यहाँ आएका थिए । गत वर्ष भ्रमण गर्ने मुलुकको संख्या घटे पनि पर्यटक संख्या भने उल्लेख्य मात्रामा बढेको छ । २०२१ मा ६८ मुलुकका १ हजार १ सय ९७ विदेशी पर्यटक मात्रै यहाँ आएका थिए ।

गत वर्ष इरानका ८० पर्यटक यहाँ आएकामा ४० जना ४५ दिने ध्यान शिविरमा सहभागी भई फर्किएका छन् । द्वन्द्वग्रस्त सुडानदेखि सिरिया, टर्कीसम्मका पर्यटक पनि यहाँ आएका छन् । लात्भिया, उरुग्वे, ग्वाटेमाला, क्युवा, इक्वेडर र घानाका पर्यटक यहाँ आएका थिए । लिबिया, लेबनान, क्यामरुन र बोस्निया हर्जगोभिनियाम्मका पर्यटक पनि यहाँ आएका थिए ।

विदेशी पर्यटकमा सबैभन्दा बढी श्रीलंकाबाट १६ हजार १ सय ७२ जना यहाँ आएका थिए । त्यस्तै दोस्रोमा थाइल्याण्डबाट १५ हजार ७ सय २१ र तेस्रोमा भियतनामबाट १० हजार ४ सय १४ जना लुम्बिनी आएका थिए । म्यानमारबाट १० हजार ३ सय ७०, चीनबाट ६ हजार १ सय १३, दक्षिण कोरियाबाट ५ हजार ३ सय २, जर्मनीबाट २ हजार १ सय ५८ र इन्डोनेसियाबाट १ हजार १ सय ३४ पर्यटक यहाँ आएका थिए । फ्रान्सबाट १ हजार २ सय २०, नेदरल्यान्डबाट ९ सय ४२, इटलीबाट ८ सय २६, स्पेनबाट ४ सय ४८ र डेनमार्कबाट १ सय २ जना पर्यटक आएका छन् । त्यस्तै अस्ट्रेलियाबाट ८ सय ६५, जापानबाट ५ सय ६५, क्यानडाबाट ३ सय ६ र बेल्जियमबाट २ सय ५० पर्यटक यहाँ आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

मुस्लिम समुदायको बाहुल्य रहेको इरान, सुडान, मलेसिया र टर्कीजस्ता मुलुकका पर्यटक बढ्नु राम्रो संकेत भएको पर्यटन व्यवसायी लीलामणी शर्माले बताए । ‘मान्छेलाई शान्ति अपरिहार्य रैछ,’ उनले भने, ‘लुम्बिनीको गरिमाकै परिणाम यत्तिको संख्यामा पर्यटक आएका हुन् भन्दा अत्युक्ति हुँदैन ।’

भीभीआईपीको बाक्लो उपस्थिति

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले गत वर्ष लुम्बिनी भ्रमण गरे । त्यस्तै चिनियाँ उपमन्त्री वाङ रुइजुन, संयुक्त राष्ट्रका उपमहासचिव र बेलायती कर्णेल पनि २०२३ मै लुम्बिनी आएका छन् । त्यस्तै नेपालस्थित चीन, भारत, जापान, नर्वे, जर्मनी र दक्षिण कोरियाका राजदूतले लुम्बिनीको भ्रमण गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी मुलुकका भ्रमण गरिने पर्यटकीय गन्तव्यमा एक रहेको छ । विविधतायुक्त बौद्ध संस्कृतिको सानो संसार हेर्न स्वदेशी र विदेशी पर्यटक आतुर देखिएको लुम्बिनी होटल संघका सल्लाहकार खिम श्रेष्ठले बताए । ‘पर्यटक धेरै आएको राम्रो हो,’ उनले भने, ‘तर, उनीहरूको बसाइ अवधि नबढ्दा समस्या भइरहेको छ ।’ अक्टोवरदेखि मार्चसम्म पर्यटकीय सिजन हो ।

पर्यटक आगमनको वातावरण बन्नु राम्रो भएको लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले बताए । ‘तर, टिकाउने समस्या भयो,’ उनले भने, ‘यहाँ टिकाउन सकिएन भने अंकमा रमाउनुको तुक छैन ।’ लुम्बिनी आउने २० प्रतिशत पर्यटक पनि महत्त्वपूर्ण बुद्धस्थल प्राचीन कपिलवस्तु तिलौराकोट पुग्दैनन् । त्यस्तै यहाँ आउने पर्यटक पश्चिम नवलपरासीको बुद्धस्थल रामग्राममा १० प्रतिशत पनि जाँदैनन् ।

लुम्बिनीमा पर्यटक बढे पनि उनीहरूलाई भुलाउने योजना र कार्यक्रम अभाव रहेको छ । ‘अहिले पनि लुम्बिनीमा पर्यटक बसाइ अवधि लम्ब्याउन सकेका छैनौं,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले भने, ‘पर्यटक भुलाउने कार्यक्रमका लागि निजी र सरकारी प्रयास जरुरी छ ।’

२ लाख ६६ हजार बढी भारतीय पर्यटक

गत फागुनमा भारतीय आध्यात्मिक गुरु मुरारीबाबुको लुम्बिनीमा आवागमनपछि यहाँ आउने भारतीय पर्यटक बढेका छन् । २०२३ मा २ लाख ६६ हजार ५ सय १० भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेका थिए । त्यस वर्ष २ लाख ३० हजार ४ सय १३ पर्यटक लुम्बिनी आएका थिए । ‘२०२२ र २०२३ अघि यति धेरै संख्यामा भारतीय पर्यटक यहाँ आएका थिएनन्,’ लुम्बिनी विकास कोषका पथप्रदर्शक अधिकृत दिलीपसिंह राईले भने, ‘मोदी र बापुको भ्रमण लुम्बिनीको प्रचार गर्न सहयोगी बने ।’

पछिल्लो ४ महिनामा मात्रै भारतीय १ लाख बढी पर्यटक यहाँ आएका छन् । भारतीयहरू मोदी र बापुप्रति निकै आस्थावान् भएकाले उनीहरू घुम्ने ठाउँ पछ्याउँदै घुम्न लालायित हुने अधिकृत राईले बताए । २०२१ मा ४३ हजार ७ सय ३२ भारतीय यहाँ आएका थिए । २०२० मा ३७ हजार २ सय ९६ भारतीय आएका थिए ।

नेपाली पनि उत्तिकै

गत वर्ष ६ लाख ५६ हजार २ सय १८ नेपालीले लुम्बिनीको भ्रमण गरेका छन् । अघिल्लो वर्ष ६ लाख ४९ हजार ७८ जना नेपाली पर्यटक र तीर्थयात्रीले लुम्बिनीको भ्रमण गरेका थिए । जबकि, २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरेका थिए । २०२० मा २ लाख १० हजारले भ्रमण गरेका थिए । चार वर्षदेखि लुम्बिनी घुम्न आउने नेपाली पर्यटक पनि बढ्दै गएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित