काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गर्नुभएको हो । साथै हातको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ ।
मन्त्रालयले कोरोनाको नयाँ सङ्क्रमणलाई ध्यानमा राखेर सीमा नाकामा निगरानी तथा हेल्थ डेस्क र सम्पूर्ण सरोकारवालामार्फत आवश्यक तयारी भैरहेको जनाएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान देखिएपछि नेपालमा पनि जोखिम छ । भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावादलगायतका क्षेत्रबाट नेपाल आउनेमा कोरोनाको सङ्क्रमण देखिने गरेको छ ।
सङक्रमण देखिनेहरुको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाउने गरिएको छ । नयाँ भेरिएण्ट जेएन वान हो वा होइन भन्ने पहिचान गर्न प्रयोगशालामा नमुना पठाइन्छ । जेएन वान भारतसहित चीन, अमेरिका, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा फैलिइरहेको छ । तर नेपालमा अहिलेसम्म नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भैसकेको छैन ।
डब्ल्यूएचओले हिउँदयाममा कोरोनासहित अन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिँदै आएको छ । कोरोनाभाइरस र श्वासप्रश्वाससम्बन्धी अरु सङ्क्रमणबाट जोगिन भिडभाड भएको र बन्द ठाउँमा मास्क लगाउन, हाछ्युँ र खोकी आउँदा नाकमुख छोप्न, बेलाबेला साबुन पानीले हात धुन, कोभिडको लक्षण देखिए परीक्षण गराउन डब्लूएचओको सुझाव छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

