काठमाडौं ,१३ पुस ।
नेपाली क्रिकेट टिमका पुर्व कप्तान। सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।
पीडितले आफूलाई करणी भएको बताएको र सन्दीपको घटना हुँदाको दिनको क्रियाकलप विचार गर्दा करणी भएको देखिएको अदालतको ठहर छ ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
के हो मुद्दा ?
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।
त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परे ।
अनुसन्धान प्रक्रिया पुरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो ।
त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।
त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

