Rashtriya Dainik

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

काठमाडौं ,१३ पुष

रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरूले गरेको आन्दोलनले उग्ररुप लिएको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले एकजना मन्त्रीको गाडी नै जलाई दिएका छन् भने नेपाल प्रहरीले प्रदर्शनकारीहरूलाई अश्रुग्यास प्रहार गरेको छ ।

इपिएस परीक्षाको विषयलाई लिएर प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाई दिएका हुन् । मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीबाट उनलाई झारेर पर्दर्शनकारीहरूले आगजनी गरेका हुन् ।

बालकुमारी क्षेत्र तनावग्रस्त बनेपछि प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका हुन् ।

सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको थियो । उनीहरूनै अहिले आन्दोलित भएका हुन् ।

इपिएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गर्दा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने व्यवस्था गरिएको थियो ।

उसो त यो मुद्दा अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनमा यस विषयमा मुद्दा दायर गरिएको थियो । जसबारे अदालतमा मुद्दा दिने सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि अदालतको उक्त आदेशसँगै इपिएस कोरिया शाखाले आज फाराम भर्नका लागि सम्बन्धित १८ जनालाई कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो । तर, १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएकाहरूले गरेका हुन् ।

माग सुनुवाइ नभएपछि उनीहरूले थालेको आन्दोलनले उग्ररुप लिँदै गएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित