पाेखरा ,७ पुस
कास्कीको पोखरास्थित अमरसिंह चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्नेक्रममा सो पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले उनीमाथि प्रहार गरेका हुन् । रानाभाटलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कास्की प्रहरीका एसपी मोहन थापाले बताए ।
रानाभाट पोखराको सूर्यदर्शन सहकारीका पीडित रहेको बताइएको छ । तर, एसपी थापाले भने सहकारीपीडित भएको वा नभएको बारे पुष्टि हुन नसकेको बताए ।
रानभाटले आफ्नो हातबाट मकैको खोया फुत्केको र स्टेजतिर पुगेको बताएका छन् । तर, स्टेज र उनलाई नियन्त्रणमा लिइएको दूरी करिब २० फिट टाढा रहेकाले शंकास्पद देखिएको एसपी थापाले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेको छ । उनलाई कुनै मुद्दा चलाउने वा सम्झाइबुझाइ गरेर छोड्ने प्रहरीले निर्णय गरिसकेको छैन ।
खोया स्टेजमा पुगेपछि रविले त्यसलाई टिपेका थिए । रास्वपाका एक नेताकाअनुसार त्यो खोया सहभागीलाई देखाउँदै सानातिना प्रहार हुँदै आएको र डस्ट्बिनमा जानुपर्ने चिज स्टेजमा आएको प्रतिक्रिया जनाएका थिए ।
पोखराको सूर्यदर्शन सहकारीका अध्यक्ष जीवी राई अहिले फरार छन् । राई र लामिछाने मिलेर काठमाडौंमा ग्गालेक्सी टेलिभिजन सुरु गरेका थिए । र सूर्यदर्शन सहकारीबाटै राई र लामिछानेले ऋण लिएको पाइएको छ । राई सहकारीको रकम हिनामिना गरी अहिले फरार छन् भने लामिछानेले पार्टी खोल्नुअघि नै टेलिभिजन छोडेका थिए । र अहिले सो टेलिभिजन पनि पनि बन्द भइसकेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

