Rashtriya Dainik

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक

जनकपुरधाम / २७ मंसिर

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा शुरु भएको छ । त्रेतायुगमा भगवान राम र जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप विवाह पञ्चमी मनाइने गरिन्छ ।

विवाहपञ्चमी महोत्सवको पहिलो दिन हिजो जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गराइएको छ । यस्तै, दोस्रो दिन आज फूलबारी लीला, तेस्रो दिन भोलि धनुष यज्ञ, चौथो दिन शुक्रवार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन आउँदो पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुनेछ । अयोध्या नरेश दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा पौराणिक व्यवस्थाअनुरुप बिहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित भगवान रामको प्रतिमालाई विशेष सिंहासनमा राखी रङ्गभूमि मैदानमा पुर्‍याइन्छ ।

यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रङ्गभूमि मैदानमा पुर्‍याइन्छ । भगवान रामको स्वर्णिम डोलालाई जानकीको विशेष सुसज्जित डोलाले पाँचपटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयंवर कार्यक्रम सकिने धार्मिक परम्परा छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित