Rashtriya Dainik

आज प्रधानमन्त्री प्रचण्ड नवलपरासी पश्चिम आउँदै

नवलपरासी ,२६ मंसिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पश्चिम नवलपरासीको रामग्राम आउने भएका छन् ।

रामग्रामको पुरातात्त्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा यहाँ विशेष कार्यक्रम हुन गइरहेको हो ।

कार्यक्रम बिहान ९ बजे शुरु हुनेछ । मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले बताए ।

प्रधानमन्त्री प्रचण्डसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने छ ।

रामग्राम नगरपालिकाले यस कार्यक्रमलाई मध्यनजर गर्दे नगरभित्र २६ गते मङ्गलवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

एक सूचना जारी गर्दे नगरपालिकाले उक्त दिन सबै वडा कार्यालय, नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था बन्द रहने जनाएको छ ।

रामग्राम स्तूप गौतमबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो ।

युनेस्को विश्व सम्पदा सूचीको सम्भावित सूचीमा रहेको रामग्राम स्तूपको पुरातात्त्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्ने बताइरहेको छ ।

सोमबार साँझ बुद्धको अस्तु धातु रहेको नवलपरासी पश्चिमस्थित रामग्राम स्तूपमा विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्ति दीप क्यान्डिल र ७ हजार दीप प्रज्वलन गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शान्ति दीप क्यान्डिल र दीप प्रज्वलनको उद्घाटन गरेका थिए ।

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनः स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भको अघिल्लो दिन रामग्राम शान्ति दीप र दीप प्रज्वलन गरी उज्यालो बनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले बुद्धको एक मात्र अस्तु धातु रहेको रामग्रामको विकास गर्ने र रामग्रामलाई धार्मिक सांस्कृतिक थलो बनाउने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले रामग्रामलाई लुम्बिनीकै जस्तै गरी विकास गर्ने गरी कोषले काम गर्ने बताए ।

उनले विश्वका बौद्ध धर्माम्बलम्बीहरुलाई लुम्बिनीसँगै रामग्राममा ल्याउने गरी आफूहरूले काम गर्न खोजेको बताए । उनले अहिले रामग्रामको गुरुयोजना बनाएर पुरातात्त्विक स्थलहरूको संरक्षण र वरपर विहार लगायत पूर्वाधार विकास गर्ने बताए ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको विकासका लागि स्थानीय सरकारले धेरैपटक ध्यानाकर्षण गराएको बताउँदै अहिलेको कार्यक्रमले रामग्राम स्तूपको महत्त्व विश्वमाझ पुर्‍याउने बताए ।

उक्त अवसरमा भिक्षु कोन्डन्य, भिक्षु डेनियलले धर्मदेशना दिँदै रामग्राम बुद्धको अस्तु धातु रहेको पवित्र स्थल रहेकाले यसको महत्त्व विश्वभर फैलाउन आवश्यक रहेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित