आरपि उपाध्याय / नवलपरासी ,१५ मंसिर
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले आगामी दिनमा काङ्ग्रेसको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताउनु भएको छ।
कोइरालाले २०८४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेस एक्लै निर्वाचनमा जानपर्ने धारणा राख्दै पार्टीभित्र बढेको चरम विवादलाई अन्त्य गर्न समिती बनाएर भएपनी मौलाएको पार्टीभित्रको विवादलाई सदाको लागि अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो।

नेपाली काङ्ग्रेस नवलपरासी (ब.स.प.) को प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै कोइरालाले सो कुरा बताउनु भएको हो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले नेपाली जनताको कठिन परिश्रमबाट बनेको नेपालको नयाँ संविधानलाई विभिन्न कोणबाट प्रहार हुन थालेको अवस्थामा प्राप्त उपलब्धिको रक्षा गर्न सबै लोकतान्त्रवादी शक्ति एक हुनुपर्ने विचार व्यक्त गर्नुभयो।
जिल्ला सम्मेलनमा संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी काङ्ग्रेसमा बढेको विवाद अन्त्य गर्न केन्द्रले नै हस्तक्षेप गर्नुपर्ने बताउदै विवाद गरेर पार्टी कमजोर गर्नेहरु उपर कडा कारवाही गर्नुपर्ने कुरामाथी जोड दिनुभयो।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति पश्चिम नवलपरासीका सभापति अर्जुन पोख्रेलको अध्यक्षतामा आयोजित जिल्ला सम्मेलनमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन,केन्द्रिय सदस्य दिपक गिरी,तरुण दलका नेता ओम पुन लगायतले पार्टीको गतिविधिमाथी प्रकाश पार्नुभएको थियो।
जिल्ला सम्मेलनको बन्द सत्रमा राजनैतिक, संागठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको जिला सचीव उमेशचन्द्र यादवले जानकारी दिनुभयो।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितीद्वारा आयोजित जिल्ला सम्मेलनलाइ जिल्लाका संस्थापक पक्षका नेता र पार्टीका विभिन्न पदमा जिम्मेवारी लिएका नेताकार्यकर्ताहरुले बहिष्कार गरेको जानकारी प्राप्त भएको छ।
जिल्ला कार्य समितिले विधान विपरीत जिल्ला सम्मेलन बोलाएको र संस्थापन पक्षका जिल्ला नेताहरुलाई सञ्चार माध्यमबाट मात्र जानकारी गराइएको बताइएको छ।

जिल्ला सम्मेलनमा सहभागी हुन प्रमुख अतिथि शेखर कोइरालाद्वारा सम्मेलनमा सहभागी हुन गरिएको आग्रहलाई संस्थापक पक्षका नेताद्वारा अस्वीकार गर्दै विधान विपरीत गरिएको सम्मेलन नमान्ने भनिएपछी जिल्लाको समस्यालाई केन्द्रिय तहबाट नै सल्टाउने आश्वासन कोइरालाले दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

