राष्ट्रिय दैनिक / नवलपरासी , १२ मंसिर
पश्चिम नवलपरासीको स्थानीय निकाय तथा सरोकारवालालाई नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बक्यौता महसुल उठाउन ताकेता गरेको छ ।
बुधबारभित्र बक्यौता रकम बुझाउन भनिएको छ ।
बक्यौता महसुल नबुझाए लाइन काटिने प्राधिकरणले जनाएको छ।
नवलपरासीका स्थानीय तहहरुको मात्र ५ करोड विद्युत महशुल तिर्न बाँकी रहेको छ।
प्राधिकरणले लामो प्रयासका बाबजुद यस्तो महसुल उठाउन नसकेपछि रकम शोधभर्नाका लागि संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो तर अर्थ मन्त्रालयले सडक बत्तीबापतको भुक्तानीको जिम्मा सम्बन्धित स्थानीय तहकै हुने र उनीहरूमार्फत नै असुल गर्न पत्राचार गरेपछि प्राधिकरणले पछिल्लो पहल थालेको हो ।
देशका ३३२ स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत प्राधिकरणलाई गत असार मसान्तसम्ममा छ अर्ब आठ करोड ९४ लाख रुपियाँ बुझाउन बाँकी छ।
प्राधिकरणले समय समयमा यस्तो सूचना जारी गरे पनि रकम भने असुल हुन सकेको छैन ।
विद्युत् महसुल नबुझाउनेमा सबैभन्दा बढी काठमाडौं महानगरपालिकाको मात्रै एक अर्ब ८१ करोड ३२ लाख रुपैयाँ छ। बाँकी ३३१ स्थानीय तहले चार अर्ब २७ करोड रुपैयाँ बुझाउन पर्ने छ।
यसैबीच नवलपरासीका सात पालिकाको कुल ४ करोड ९३ लाख ८२ हजार बक्यौता रकम तिर्न बाँकी रहेको देखिएको छ। जसमा सबैभन्दा बढी रामग्राम नगरपालिकाको ३ करोड २९ लाख बक्यौता रकम रहेको छ। सुनवल नगरपालिकाको कुल ७२ लाख ५४ हजार विद्युत महशुल तिर्न बाँकी छ । बर्दघाट नगरपालिकाले ३६ लाख ८२ हजार, प्रतापपुर गाउँपालिकाले १६ लाख ८६ हजार, पाल्हीनन्दन गाउँपालिकाले १५ लाख ६५ हजार महशुल तिर्न बाँकी छ । त्यस्तै सरावल गाउँपालिकाले १५ लाख ५१ हजार, र सुस्ता गाउँपालिकाले ७ लाख ४ हजार विद्युत महशुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

