Rashtriya Dainik

सुरक्षा पोष्टबाट एक किमीको दुरीमा मारियो गैंडा , सुरक्षामाथी प्रश्न

चितवन,२ मंसिर

चितवनको सौराहामा पर्यटकीय गतिविधिले लय समातेकै बेला चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी पनि सक्रिय भएका छन् । जङ्गल सफारी गरेर निकुञ्ज वरपर रहेका होटल, रिसोर्ट र लजमा बसेका स्वदेशी तथा विदेशी पर्यटक दुई वटा पोथी गैँडा मारिएको खबरले स्तब्ध भए ।

मारिएका दुई पोथी गैँडाका खाग र खुर दुवै गायव छन् । मारिएकामध्ये एउटा १० दिनअघि नै र अर्को तीन दिनअघि मारेर खाग र खुर लगिएको अनुमान चितवन राष्ट्रय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गरे ।

“निकुञ्जको पूर्वी क्षेत्र अन्तर्गत पर्यटकीय नगरी सौराहा नजिकै पर्ने चप्परचुली पोस्टबाट करिब साढे तीन किलोमिटरको फरकमा दुई वटा गैँडा मरेको अवस्थामा भेटिए,” सूचना अधिकारी तिवारीले भने । उनले भनेको घुमाउरो बाटोको दुरी हो । सुरक्षा पोस्टबाट घटनास्थल करिब एक किलोमिटरको दुरीमा पर्ने पथप्रदर्शकहरू बताउँछन् । यस ठाउँमा सितिमिति सुरक्षा पहुँच नरहेको उनीहरूको दाबी छ ।

मारिएका दुवै पोथी गैँडा हुन् । १० दिनअघि मारिएको अनुमान गरिएको १८ वर्षको र अर्को छ वर्ष रहेको निकुञ्जले जनाएको छ । दुवै गैँडा राप्तीपारि खाल्डो खनेर धरापमा पारी मारिएका थिए । निकुञ्ज प्रशासनले भने बिहीबार साँझ मात्र यसको सूचना पाएको थियो । तस्कारले एक सय मिटरको फरकमा दुई वटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ ।

वन्यजन्तुकै कारण बढेको चितवनको पर्यटकीय गतिविधिमा फेरि यस घटनाले नराम्रो असर पार्ने सम्भावना देखिन्छ । पेसाले मेडिकल डाक्टर अस्ट्रियन नागरिक एल क्जोपाकले सङ्कटासन्न वन्यजन्तु गैँडा मारिएको सुन्दा आफू ज्यादै दुःखी भएको बताए ।

“मलाई बाघ हेर्ने ठुलो चाहना हो । यहाँ आएपछि गैँडासमेत देख्न पाए हुन्थ्यो भन्ने लागेको थियो,” शुक्रबार निकुञ्जमा जिप सफारी गरेका चिकित्सक क्जोपाकले थपे, “संयोगले दुवै वन्यजन्तु देख्न पाउँदा हर्षित छु । यस्ता वन्यजन्तु मारिएको सुन्दा दुःख लाग्दो रहेछ ।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित