Rashtriya Dainik

उपाधिको लागि नेपाल र ओमान भिड्दै, एक परिवर्तनको सम्भावना

काठमाडौं ,१९ कात्तिक

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको उपाधिका लागि नेपालले आज ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल आइतबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

विश्वकपमा पुगेपछि नेपाल र ओमान छनोट प्रतियोगिताको उपाधिका लागि खेल्न लागेका हुन् । एसिया क्षेत्रबाट यसपटक नेपालले यूएईलाई ८ तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै २०२४ को जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाए ।

अब यी दुई टिम छनोट प्रतियोगिताको फाइनल पनि जित्दै सुखद अन्त्य गर्न चाहन्छन् । नेपालले समूह चरणमा तीनमध्ये दुईमा जित र एक खेलमा पराजय बेहोर्‍यो । नेपालले ग्रुप स्टेजमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल समूह चरणको अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भयो । त्यसका बाबजुद नेपालले सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको सानदार जित निकाल्दै दोस्रोपटक विश्वकपमा स्थान बनाउन सफल भयो ।

नेपाल छनोट प्रतियोगिताको फाइनलमा ओमानसँग समूह चरणको हारको बदला लिँदै ट्रफी घरमै राख्न चाहन्छ ।

ओमान भने अपराजित यात्रा कायमै राख्दै ट्रफी हात पार्ने दाउमा छ । उसले जारी प्रतियोगितामा चार खेल खेल्दा सबैमा जित निकालेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हेड टु हेड हेर्दा ओमानमाथि नेपाल हाबी छ ।

हालसम्म नेपाल र ओमानले ५ टी–२० खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले तीन र ओमानले दुई खेल जितेको छ । ओमानविरुद्ध नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

नेपालले फाइनलमा दीपेन्द्र सिंह ऐरीलाई विश्राम दिएर विनोद भण्डारीलाई मौका दिने सम्भावना रहेको हो । दीपेन्द्र अझै पूर्णरूपमा फिट छैनन् । नेपाल विश्वकपमा पुगिसकेकाले उनी आफ्नो खुट्टाको चोटलाई ध्यानमा राखेर ओमानविरुद्ध खेल्ने सम्भावना देखिँदैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित