Rashtriya Dainik

गौतम बुद्धको अस्थिधातु रहेको स्तूपाको उत्खनन शुरु

राष्ट्रिय दैनिक / नवलपरासी , १६ कार्तिक ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-७ मा प्राचीन रामग्राम स्तूपकाे उत्खनन शुरु गरिएको छ ।

पश्चिम नवलपरासीको भगवान् गौतम बुद्धको अस्थिधातु रहेको स्तूपाको करिब २० वर्षपछि दोस्रो पटक उत्खनन शुरु गरिएको हो ।

फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा लामो समयको अन्तरालपछि शुरु गरिएको उत्खनन टोलीमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालय र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको संलग्नता रहेको पुरातत्व विभागका पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीले जानकारी दिनुभयो ।

आगामी नोभेम्बर २८ सम्म उत्खनन कार्य जारी रहने उहाँले बताउनुभयो । उत्खनन टोलीले स्तूपाको उत्तर पश्चिममा रहेको खुल्ला चौरमा उत्खनन शुरु गरेको छ । यसअघि भू-भौतिक सर्वेक्षणबाट उक्त क्षेत्रमा जमिनको सतहमुनि देखिएका संरचनाको पुष्टि गर्न उत्खनन् थालिएको पुरातत्वविद ज्ञवालीले बताउनुभयो।

सन् २०१८ र २०१९ मा गरिएको जियो फिजिक्स सर्भेका क्रममा स्तूपको उत्तर पश्चिमतर्फको खाली जमिनमा ठूलो क्षेत्रफलमा फैलिएको विहार र पोखरी रहेको देखाएको थियो । सोही संरचनालाई उजागर गरि प्रमाणित गर्न यस पटकको उत्खननले टेवा पुग्ने बताईएको छ । पोखरी करिब ३० / ४० मिटर र बिहार ४०/६० मिटरमा फैलिएको पहिचान भएको थियो ।

सन् २०१० देखि लुम्बिनीको उत्खननमा संलग्न दुरहाम विश्व विद्यालयका प्रोफेसर डा. रविन कनिङघमको नेतृत्वमा पुरातत्व विभागका पुरातत्वविद भाष्कर ज्ञवाली, लुम्बिनी विकास कोषका पुरातत्वविद हिमाल उप्रेती लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु रामग्रामको उत्खननमा संलग्न हुनुहुन्छ ।

टोलीले २ मिटर चौडाई र ४० मिटर चौडाई टेन्च लिएर उत्खनन थालिएको ज्ञवालीले बताउनुभयो ।

पुरातत्व विभाग र लुम्बिनी विकास कोषसँग पटकपटकको पहल पछि रामग्राम स्तूपको उत्खनन कार्य शुरु भएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो ।

रामग्राम स्तूप संघीय सरकारको मातहतमा भएपनि संघीय सरकार र लुम्बिनी विकास कोषले वेवास्ता गर्दा स्तूप ओझेलमा परेको बताउँदै स्तूपको उत्खनन र विकासका लागि आफूले निरन्तर पहल गरिरहेको मेयर यादवले उल्लेख गर्नुभयो । यस उत्खननले रामग्राम स्तूपलाई विश्व समुदायमा प्रमाणित गर्न र विश्व सम्पदा सूचीमा सूचीकृतका लागि यथेष्ट प्रमाण संकलन हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।

इतिहासविद् डा डब्लु होइद्वारा पत्ता लगाइएको रामग्राम स्तूप क्षेत्रमा यसअघि सन् १९९७, १९९९ र २०१८ मा गरी तीनपटक जियो फिजिक्स सर्भे भएको थियो । सन् १९९७ र १९९९ मा गरिएको जियो फिजिक्स सर्भेबाट स्तूप क्षेत्र वरपर विहार देखिएपछि पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा सन् १९९९ देखि २००४ सम्म विभिन्न चरणमा रामग्रामको उत्खनन् गरिएको थियो । त्यस बखत स्तूपको उत्तर पश्चिम र पूर्वमा उत्खनन् गर्दा बौद्ध विहार तथा मौर्यकालीन संरचना फेला परेको थियो । त्यसपश्चात लामो समयदेखि रामग्रामको उत्खनन हुन सकेको थिएन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित