Rashtriya Dainik

फाइनलमा चुक्यो नेपाल, यूएई बन्यो च्याम्पियन

राष्ट्रिय दैनिक , १० कार्तिक

त्रिकोणात्मक टी–२० सिरिजको उपाधि यूएईले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको हो ।

उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेटाउन सफल भएको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको यूएईका लागि ओपनर व्याट्सम्यानद्वय क्याप्टेन मोहम्मद वसीम र आर्यन शर्माले ७१ रनको बलियो साझेदारी गरे ।

२२ बलको सामना गरेका मोहम्मद वसीमले २ छक्का र ४ चौकाको मद्दतमा ४५ रन बनाउँदा उनका साझेदार शर्माले २६ बलमा २५ रन जोडे । निकै राम्रो व्याटिङ गरिरहेका क्याप्टेन वसीमलाई नेपाली बलर गुल्सन झाले आउट गराए । नेपालका लागि अविनास बोहरा र गुल्सन झाले समान २/२ विकेट लिए । कुशल मल्ल १ विकेट लिए । २५ बल खेलेर २६ रन जोडेका वृतिया अरविन्द रुद्रावेललाई दीपेन्द्र सिंह ऐरीले रन आउट गराए ।

टस हारेर सुरुवाती व्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौँ बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए ।

आक्रामक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । कुशल पनि अर्ध शतक बनाए लगतै आउट भए । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे ।

तर, १३औँ ओभरमा दुवै जना आउट भए । १८ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले १७ रन, दीपेन्द्र सिंह ऐरीले १५ बल खेल्दा २० रन, सन्दीप जोराले १० बलमा १० रन, गुल्सन झाले ८ बलमा ५ रन बनाउँदा क्याच आउट भए । यूएईका आयान खानले तीन विकेट लिँदा अली नासीर र जाहुर खानले समान २–२ विकेट लिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित