Rashtriya Dainik

भारतीय ठेकेदारको दादागिरी नेपाली भूमि सुस्तामा नदीजन्य पदार्थको चरम दोहन

बिनोद निगम / नवलपरासी ,१४ जेठ ।

पश्चिम नवलपरासीको सुस्तामा भारतीय ठेकेदारले नदीजन्य पदार्थको चरम दोहन गर्दा गरेको छन् ।

सुस्ता गाउँपालिकामा पर्ने गण्डक क्षेत्रको ए ग्याब र बि ग्याबमा रहेका स्पर ठोकर र बाँधको अहिले मर्मत भइरहेको छ ।

संरचनाहरू जीर्ण भएपछि नदी छेउमा निर्माण गरिएका बाँधलाई चौँडा गर्ने काम र स्परहरुको मर्मत र नयाँ निर्माणसमेत गरिदैं छ । यही कामलाई देखाएर भारतीय ठेकेदारले सुस्तामा चरम दोहन गरेका हुन् ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नदीमा दिनहुँ भइरहेको दोहन रोक्न नसकिएको गुनासो गर्नु भयाे । नियमन गर्ने निकाय समेतले तदारुकता नदेखाउँदा मापदण्ड विपरीत चरम दोहन भइरहेको उहाँले बताउनु भयो । प्रहरी प्रशासनबाट समेत सहयोग नपाएका कारण भारतीय ठेकेदारको दोहन रोक्न नसकिएको उहाँको भनाई छ।

रोयल्टी लिएर ३० हजार घन फिट गिट्टी, बालुवा र ग्राभेल निकाल्न दिए पनि पछिल्लो पटक रोयल्टी नै नतिरी नदीजन्य पदार्थ निकालेको उहाँले बताउनुभयो ।

निर्माणका लागि आवश्यक पर्ने भन्दा बढि नदीजन्य पदार्थ (बालुवा,गिट्टी) अवैध रुपमा निकालिरहेको र त्यसलाई रोक्न गाउँपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला समन्वयमा पत्र पठाए पनि बेवास्ता गरेको उहाँको आरोप छ ।

गाउँपालिकाले नदीजन्य पदार्थ निकाल्नका लागि वडा नम्बर ५ मा पर्ने नदी किनारलाई तोकेको छ । तर, भारतीय पक्षले भने अन्यत्रबाट समेत नदीजन्य पदार्थ निकाल्दै आएको छ ।

निकालिएका नदीजन्य पदार्थ गण्डकको निर्माण कार्यबाहेक अन्यत्रसमेत लैजाने गरेको स्थानीयले बताएका छन् । जथाभाबी रुपमा नदीजन्य पदार्थ दोहन भएको जानकारी पाएपछि जिल्ला अनुगमन समितिलेसमेत त्यस क्षेत्रको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भारतीय पक्षले रोयल्टी नतिरी तोकिएको स्थानभन्दा बाहिर गएर जबरजस्ती नदीजन्य पदार्थ निकालेको पाइएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख रुद्ध यादवले बताउनुभयो ।

अहिले दोहन गरेर नदीजन्य पदार्थ निकालेको क्षेत्रमा जोखिम समेत बढ्दै गएको छ । त्यहाँका स्थानीयले पटक पटक यसको बिरोध गरे पनि दोहन रोकिएको छैन। ‘काम भन्दा धेरै गिटी बालुवा झिकिएको छ,सबैलाई जानकारी पनि छ तर भारतीय ठेकेदार भएकोले हो या अरू कारण हो प्रशासनको पनि भूमिका देखिएन’ सुस्ताका सज्जित शर्माले भन्नुभयो ।

पटक पटक जानकारी गराउँदासमेत ठेकेदार पक्षले दादागिरी शैलीमा अटेर गर्दै आएको स्थानीयको भनाई छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित