उमेश बि.क / नवलपरासी , ११ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाबाट वैदेशिक रोजगारको लागि लिइने श्रम स्वीकृति बनाउन थालिएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै पालिकाले सेवा सुरु गरेको हो ।
पालिकाको रोजगार सेवा केन्दबाट वैदेशिक रोजगारमा जान चाहनेहरुको लागि श्रम स्वीकृति र पुन श्रम स्वीकृति बनाउन थालिएको हो ।

केन्द्र सरकारबाट परिपत्र भए अनुसार सेवाग्रहीहरुको श्रम स्वीकृति बनाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले जानकारी दिनुभयो ।
स्थानीय तहबाट श्रम स्वीकृति वितरण भए पछि आफ्नो पालिकाबाट कुन मुलुकमा के कामको लागि नागरिक वैदेशिक रोजगारीमा गएका छन् भन्ने सम्पूर्ण विवरण रहने पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।
स्थानीय स्तरमै श्रम स्वीकृति दिँदा वैदेशिक रोजगारमा गएर फर्किएकालाई सिप अनुसारको रोजगारी सिर्जना गर्न सकिन्छ,’ अध्यक्ष चाैधरीले भने, ‘त्यसैले स्थानीय स्तरबाटै श्रम स्वीकृति दिने ब्यवस्था अतिनै फलदायी छ ।’ यसले पालिकाबासी कहाँ के गर्दै छन, र त्यहाँबाट आएको विप्रेषण(रेमिटेन्स) कहाँ प्रयोग हुँदैछ भन्ने समेत जानकारी हुने वहाँले बताउनुभयो ।
पालिकाबाट श्रम स्वीकृति वितरणको सेवा सुरु भएसँगै वैदेशिक रोजगारमा जानेहरुमा रोजगारीको बारेमा चेतना गाउँस्तरमा पुग्ने भएकाले वैदेशिक रोजगार ठगी कम हुने अपेक्षा गरिएको उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रमस्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय गरेको थियो । यस अघि काठमाडौंबाट मात्र हुँदै आएको श्रम स्वीकृति दुई वर्षअघि मात्र प्रदेशस्तरमा लगिएको थियो ।हाल नगर वा गाउँपालिका अन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदन दिन सकिने र श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।
यो व्यवस्थाका कारण हजारौं खर्च गरेर श्रम स्वीकृति लिन प्रदेशका श्रम तथा रोजगार कार्यालय जानुपर्ने बाध्यता हटेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

