रवि पाण्डेय
बर्दघाट – बर्दघाट नगरपालिकाले चालु आर्थिक बर्षको बैशाख महिना सम्म भएको प्रगति विवरण सार्वजनिक गरेको छ । आइतवार नगर प्रवक्ता सन्तबहादुर गाहाले उपप्रमुख रुद्र प्रकाश उपाध्यायको उपस्थितिमा प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
आठौं पत्रकार सम्मेलन आयोजना गरेर नगरले प्रगति विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कूल बजेट ९१ करोड ९० लाख ५० हजार रुपैया मध्ये जम्मा ५४ करोड ५४ लाख १९ हजार रुपैया खर्च भएको जानकारी दिइएको थियो ।
कुल बजेटको ५९.३४ प्रतिशत खर्च भएको जानकारी दिदै चालु तर्फ रु.५२ करोड ४४ लाख ४७ हजार रुपैया विनियोजन भएकोमा ३६ करोड ६० लाख ९४ हजार अर्थात ६९.८ प्रतिशत खर्च भएको प्रगति प्रतिबेदनमा उल्लेख छ ।
त्यस्तै पूँजिगत तर्फ ३९ करोड ४६ लाख २ हजार रुपैया विनियोजन भएकोमा १७ करोड ९३ लाख २५ हजार रुपैया अर्थात ४५.४४ प्रतिशत खर्च भएको जानकारी दिइयो ।
यसैगरी ५६१ वटा योजना उपभोक्ता समिति, संघ संस्था तथा सेवा परामर्श विधि मार्फत कार्यान्वयन गर्न सम्झौता भएको र ११७ वटा योजनामा माग गरे अनुसार उपभोक्ता समितिलाई पेश्की उपलव्ध गराइएको समेत प्रतिबेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिदै उपप्रमुख उपाध्यायले नगर प्रमुख र उपप्रमुखबीच शितयुद्ध रहेको भन्नु झुटो रहेको दावी गर्नुभयो । उहाँले ट्रमा सेन्टरको जग्गा सम्बन्धि आफ्नो फरक धारणालाई बंग्याएर नगर प्रमुख र आफूबीच फुट पार्ने तत्वले शितयुद्ध र बेमेल जस्ता बिषय ल्याएको जिकिर गर्नुभयो । कार्यक्रममा उठेका प्रश्नको शाखाका प्रमुख तथा प्रतिनिधिहरुले जवाफ दिएका थिए । कार्यक्रम योजना शाखाका अधिकृत पुस्कर काफ्लेले संचालन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

