अारपि उपाध्याय / नवलपरासी , २९ बैशाख
नवलपरासी (बर्दघाट-सुस्ता पुर्व) जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थित त्रिवेणी भन्सार कार्यालय मुल भन्सार कार्यालय भएको ३ वर्ष बितिसक्दा पनि पुर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
गण्डकी प्रदेशको एक मात्र भारतसँग जोडिएको सीमा नाका त्रिवेणीस्थित छोटी भन्सारलाई स्तरोन्नति गरेर २०७६ भाद्र महिनादेखि मूल भन्सार बनाइए पनि विभिन्न समस्याले गर्दा यो भन्सार कार्यालय हालसम्म पुर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो ।
तत्कालीन त्रिवेणी छोटी भन्सार कार्यालयको स्तरोन्नति भई मालवस्तु जाँचपास सुरु गरिएपछि यस क्षेत्रका उद्योग व्यवसायी, व्यापारी र स्थानीयसमेतले खुसीयाली मनाएका थिए । भन्सारको स्तरोन्नति र जाँचपास शुरु भएसँगै राजस्व उठ्ने, चोरी निकासी/ पैठारी नियन्त्रण हुने, चहलपहल बढ्ने र विकासले तीव्रता पाउने विश्वास स्थानियहरुले गरेका थिए। तर अवस्था भने त्यस्तो रहेन नसकेको बुझिएको छ ।
त्रिवेणी नाकाबाट खाद्यान्न, तरकारी, फलफूल तथा उद्योगका कच्चा पदार्थ आयात /निर्यातको बढी सम्भावना रहेको छ । तर यस्ता बढी सम्भावना भएका मालवस्तु नै यस भन्सारबाट आयात हुन नसक्नु चिन्ताको विषय बनेको छ।
व्यवसायीहरुको मागमा उल्लेखित मालवस्तु सँगै अन्य सबै खाले मालवस्तु त्रिवेणी भन्सार कार्यालयबाट आयात / निर्यात गर्न पाउनु पर्छ भन्ने स्थानीय व्यवसायीहरुको माग रहदै आएको छ । त्रिवेणी भन्सारमा प्लान्ट क्वारेन्टाइन कार्यालय नभएकोले विषादी परीक्षण गरेरमात्र पैठारी गर्नुपर्ने खाद्यान्न, तरकारी, फलफूल लगायतका कृषिजन्य उपजहरुको जाँचपास हुन नसकेको त्रिवेणी भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख चण्डीराज गेलालले बताएका छन् । भारत विहारतर्फ कस्टम अफिस खुलेको पनि लामो समय भईसकेको छ भने भारतबाट जुनसुकै मालवस्तु जाँचपास हुने अवस्था रहेको बताइन्छ । विगतको समयमा कहिले कार्यालय /जग्गाको समस्या, कहिले कर्मचारी समस्या भन्दै हुनसक्ने काम पनि पूरा हुन सकेका थिएनन् । आफ्नै भवन तथा जग्गाको समस्या भए पनि हाल भन्सार जाँचपासका लागि संरचना तथा पूर्वाधारसँगै आवश्यक कर्मचारीकोसमेत व्यवस्था भएको छ। तर पनि कामले गति लिन नसक्दा यस तर्फ भन्सार विभाग र सरोकारवाला निकायले चासो नदिएको भन्ने स्थानीयहरुको बुझाइ रहदै आएको छ ।
क्वारेन्टिन कार्यालय त्रिवेणी मै रहेको पशु कार्यालयलाई बनाउन सकिने अवस्था रहे पनि तत्कालको समयलाई भैरहवास्थित क्वारेन्टिन कार्यालयबाट काम चलाउन सकिने अवस्था छ। भन्सार संचालनका विभिन्न विकल्प हुँदाहुंदै पनि कामले पुर्णता नपाउनु आश्चर्यको विषय बनेको छ। आफ्नै स्थानीय क्षेत्रमा भन्सार भए पनि भैरहवा, महेशपुर तथा विरगञ्जबाट मालवस्तु आयात गर्नु पर्दा समय तथा लागत बढेको गुनासो पनि यहाँका व्यवसायीहरुको रहदै आएको छ ।
भन्सार कार्यालयमा हुने अन्तरक्रिया, छलफल तथा गोष्ठी कार्यक्रममा यस्ता विषयले प्रवेश पाएपनी कार्यान्वयन पक्ष फितिलो नै रहेको पाइन्छ। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले नेपाल नेसनल सिङ्गल विन्डो (Nepal National Single Window – NNSW)) मा यस कार्यालयलाई जोडिदिनु पर्ने हो तर जनशक्ति अभाव भएका कार्यालयले थप काम गर्न सक्दैनन्, भने अर्थ मन्त्रालय र सामान्य प्रसाशन मन्त्रालयबाट थप जनशक्ति माग गर्दा सुनुवाई नै नहुने भएको श्रोतले बताएको छ।
गण्डकी प्रदेशको लाइफलाइन भनिएको त्रिवेणी भन्सार कार्यालय सञ्चालनमा जनप्रतिनिधि लगायत सरोकारवाला कसैले चासो नदिनु बिडम्बनाको कुरा रहेको छ । व्यापार सहजीकरण, चोरी निकासी / पैठारी नियन्त्रण तथा राजस्व संकलन गर्ने मुल उद्देश्य राखेर भन्सार कार्यालयको स्थापना भएपनी हालको अवस्थामा उपरोक्त कुरा पूरा नहुदा भन्सार कार्यालय खोल्नुको औचित्यमाथी प्रश्नवाचक चिह्न रहन गएको छ। कर्मचारी खटाउने,भाडा तिर्ने उपलब्ध जनशक्तिलाई कामविहीन बनाएर राख्नुलाइ पनि चिन्ताको विषय मानिएको छ।
सामान्य प्रसाशन मन्त्रालय/अर्थ मन्त्रालयमा प्रस्ताव लानुपर्ने वा मन्त्रिपरीषदवाट निर्णय गराउनुपर्ने विषय भए त्यस्ता विषयले सम्बन्धित ठाउँमा प्रवेश नपाउनु पनि चासोको विषय रहेको छ। भन्सार सञ्चालनमा आउने कानुनी जटिलतालाई सम्बन्धित मन्त्रालयबाट नै समाधान गर्नुपर्ने विषय रहेपनी सो अनुसार कार्य सञ्चालन हुन नसक्नु भन्सारको स्तरोन्नति माथी नै अन्याय भएको बुझिएको छ।
यस विषयमा भन्सार विभागले आवश्यक समन्वय गरि विषादी परीक्षणका लागि तत्काललाई भैरहवास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट काम चलाउने र पछि यसै क्षेत्रमा क्वारेन्टाइन कार्यालय स्थापना गर्ने व्यवस्था मिलाउनुका साथै त्रिवेणी नाकाबाट तत्काल मालवस्तु जाँचपास सुरु गरि स्थानिय व्यवसायीहरुको माग र चाहनालाई सम्बोधनको लागि स्थानीयहरु प्रतीक्षारत रहेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

