काठमाडौ ,२६ बैशाख
कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा बिहान ८ बजेदेखि सुरु रहेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । साथै यस वर्ष ५६ हजारभन्दा धेरै विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनेछन् ।
सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन ग्रेड) आएको छ, त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । अर्थात् ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन्, ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् । यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यसै वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो । यसो गर्दा गएको वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।
दुई विषय भन्दा माथि विषयमा एनजी लाग्दा कक्षामा दोर्होयाएर पढ्न अथवा सबै विषयको परीक्षा दिन गाह्रो मानेर कतिपय विद्यार्थीले पढ्न छोड्ने भएकाले कक्षा १२ पछिको ड्रप आउट रोक्नका लागि यो निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताउनुभएको छ । परीक्षा जेठ ५ गतेसम्म चल्नेछ । बोर्डका अध्यक्ष डा. शर्माका अनुसार परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । उहाँले शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेका कारण यो परीक्षा माध्यमिक तहको अन्तिम परीक्षाको रुपमा लिइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

