नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् ।
भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घन्टा अगाडिदेखि बन्द गर्न लागिएको हो ।
महराजगञ्ज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई दृष्टिगत गर्दै रुपन्देहीको बेलहियासहितको नाका मङ्गलबार साँझ ६ बजेदेखि बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो । चुनावलाई लक्ष्य गरी मतदान समाप्त नभएसम्म बिहीबार बेलुका ६ बजेसम्म सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
सीमा बन्द भए पनि अत्यावश्यक कामका लागि आपसी सहमतिमा नाका खुल्ला गर्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्द रहने उक्त विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

