नेपालगञ्ज : बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण कार्यलाई अघि बढाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको सङ्ख्या वृद्धि गर्न प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन गोही संरक्षण अभियानको सुरुवात गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।
निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती नदीमा जलचरमध्ये सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण सुरु गरिएको उनले बताए । गोही संरक्षण अभियान अन्तर्गत पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जले दुईवटा भाले र आठवटा पोथी घडियाल बाँके निकुञ्जलाई हस्तान्तरण गरेको थियो ।
बर्दियाबाट स्थानान्तरण गरिएका गोही बाँकेको बाँसखोलीस्थित राप्ती नदीमा छाडिएको छ । गोहीलाई चितवनबाट बर्दिया ल्याइएको थियो । राप्ती नदीमा गोहीको सङ्ख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको उनको भनाइ छ ।
यसअघि नदीको स्थलगत अध्ययन गर्दा त्यहाँको पानीसँगै बगरक्षेत्र वातवरणीय दृष्टिले समेत घडियाल गोहीको उचित बासस्थान हुने निष्कर्षमा निकुञ्ज पुगेको थियो । त्यसैका आधारमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले गोही संरक्षण अभियान सुरु गरेको हो ।
पानीमा प्रदूषण न्यून रहेको तथा स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको मुख्य आहारा माछा भएकाले राप्ती नदीमा यी दुवै उपलब्ध रहेको प्रमुख शाहले बताए । गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाई भने नियन्त्रण गरिने छ ।
नदीमा माछा मारेर जीविका चलाउँदै आएका खुनार र कुमाल जातिको व्यवसाय सङ्कटमा पर्ने देखिएकाले उनीहरूको आयआर्जनको विकल्प खोजिने निकुञ्जले जनाएको छ । ‘विकल्प स्वरूप खोला वा नदी बाहिर माछा पालन गर्न सिकाउने तयारीमा छौँ,’ निकुञ्ज प्रमुख साहले भने, ‘सङ्कटापन्न सूचीमा रहेका प्रजातिको संरक्षण गर्नु आवश्यक छ ।’
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले सबैको सहकार्यबाट संरक्षण कार्य सुरु गरिएको जनाउँदै जलचरको सङ्ख्या बढाउनुपर्ने अति आवश्यक रहेको बताए । उनले गोही संरक्षणका लागि गाउँपालिकाले बाँके निकुञ्जलाई हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

