कपिलवस्तु – नेपालबाट भारतमा अवैध सुनको कारोबार गर्दै आएका कपिलवस्तुका राजेश बर्मालाई प्रहरीले राती पक्राउ गरेको छ । शुध्दोधन गाउँपालिका ६ बस्ने बर्मालाई प्रहरीको विशेष सुराकीको आधारमा तौलिहवास्थित जमुवार पुलबाट गएराती ९ बजे पक्राउ गरिएको हो ।
भारतको नौगढबाट सुन बिक्री गरेर तौलिहवा आउँदै गरेको सूचना पाएपछि एसपी प्रेमबहादुर बस्नेत आफै नाकामा चेकजाँचका लागि खटिएका थिए । यस क्रममा बर्मा सवार युपी ५५ एएम०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको अवस्थामा प्रहरीले २१ लाख ७ हजार १ सय भारतीय रुपैयाँ बरामद भएको छ । उनीहरु संगै गाडी चालक भारतीय नागरिक हमिद मुसलमान पनि पक्राउ परेका छन् ।
पक्राउ तीनै जनासंग बयान लिने क्रम जारी रहेको र थप संलग्नहरुको नाम बाहिर आउन सक्ने बताइएको छ । राजेश बर्माले पकडीमा सुन पसल सन्चालन गरी बसेका छन् । उनले त्यहाँबाट विभिन्न चरणमा सीमा क्षेत्र चाकरचौडा हुँदै भारतको सिध्दार्थनगरसम्म सुन तस्करी गर्दै आएका थिए । उनीसंग तौलिहवाका प्रतिष्ठित सुन व्यापारीहरु समेत जोडिएको प्रहरी श्रोतले जनाएको छ । बर्मा ३ बर्षअघिसमेत ५०० ग्राम सुनसहित पक्राउ परेका थिए । उनले तौलिहवाका व्यापारीहरुसंग सुन लिएर भारतमा सप्लाई गर्दै आएको बताइन्छ ।

अवैध कमाईलाई बैध बनाउन बर्माले तौलिहवामा मेरो मार्ट भन्ने सपिङ्ग सेन्टरसमेत सन्चालन गरेका छन् । २ महिनादेखि सीमा क्षेत्रमा सुन तस्करी बढेपछि भारतीय रुपैयाँ कमजोर बन्न गएको छ । १ सय भारुको १६० खरिद बिक्री हुनुपर्नेमा अहिले १५५ देखि १५७ मा मात्र खरिद बिक्री हुँदै आएको छ । प्रहरी उपरिक्षक प्रेम बस्नेतले पक्राउ तीनै जनासंग सोधपुछ भइरहेको बताए । “उनीहरु पहिलेदेखि नै शंकास्पद थिए र हामीले पछ्याइरहेका थियौँ,रकमको श्रोत अझै खुल्न सकेको छैन,थप अनुसन्धान गर्दैछौँ” उनले भने ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

