काठमाडौं , माघ २० गते ।
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको हस्तान्तरण गरिएको छ ।
बिहिबार अयोध्यामा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका छन् ।
हिन्दू परम्परा अनुसार पूजापाठ गरी मन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माण स्थल रामसेवकपुरममा उक्त शिला हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा सयौं साधुहरु पनि उपस्थित थिए । उनीहरुले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए ।
कार्यक्रममा कांग्रेस नेता निधिले राम जन्मभूमिमै आएर शिला हस्तान्तरण गर्न पाउनु आफ्नो सौभाग्य भएको भन्दै यो कामलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गरे ।
राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले पवित्र देवभूमि नेपालको कालिगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्य काम भएको भन्दै यसबाट दुबै देशले लाभ उठाउने बताए ।
दुईवटा शिलामध्ये एउटा १८ टनको छ भने अर्को १६ टनको छ । १६ टनको शिलामूनी चतुर्भूज सालिग्राम भेटिएको थियो ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिला जनकपुरधाम हुँदै अयोध्यातर्फ लगिएको थियो । बिहिबार हस्तान्तरण गरिएको शिलाबाट राममन्दिरको गर्भभागमा राखिने रामको बालस्वरुप बनाइने छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

