कास्की – पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।
कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गर्नुभएको हो । रुपा गाउँपालिका–३ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका ज्येष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँ नै शोकमा डुबेको अध्यक्ष ओझाले बताउनुभयो ।
अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरी विसं २०४६ मा नेपाल वायुसेवाबाट करियर सुरु गरी भारतको बैङ्गलोरमा रहेकाे इन्डियन एअरलाइन्स र पछिल्लो समय यती एअरलायन्समा आबद्ध क्याप्टेन केसीको निधनले रुपा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।
केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाट समेत सम्मान गरिएको जानकारी अध्यक्ष ओझाले दिनुभयो । गाउँपालिकाको बैठकले हिजाे साँझ रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ । साथै बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने निर्णय गरेको छ ।
साथै बैठकले पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णयसमेत गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

