ज्ञानेश्वर सहानी/ नवलपरासी , २९ पुस ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सञ्चालन गरिरहेको पाल्हीनन्दन अस्पतालमा गर्भवति महिलाको लागि निःशुल्क ग्रामिण भिडियो एक्सरे सेवा शुरु गरेको छ । ग्रामीण क्षेत्रका गर्भवति महिलालाई सहज रुपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउन अस्पतालले आजदेखि यो सेवा शुभारम्भ गरेको हो ।
गर्भवति महिलाका लागि निःशुल्क ग्रामिण भिडियो एक्सरे सेवाको आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले शुभारम्भ गर्नुभयो । उहाँले पालिकाबासीलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका लागिरहेको बताउनुभयो ।
गाउँपालिका भित्रै भिडियो एक्सरे सेवा नहुँदा यहाँका गर्भवति महिलाहरु समय र पैसा खर्च गरेर सदरमुकाम र अन्य अस्पतालहरुमा जानुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमै सहज हुने अध्यक्ष गुप्ताले बताउनुभयो । पाल्हीनन्दन अस्पतालले स्थापनाको छोटो समयमै आवश्यकता अनुसारको सेवा थप गर्दै गएको बताउँदै अध्यक्ष गुप्ताले बिरामीको सेवामा कुनै कमि हुन नदिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
ग्रामीण क्षेत्रका गर्भवति महिलाको अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनको लागि यो सेवा सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.राजकुमार गुप्ताले दैनिक खबरलाई जानकारी दिनुभयो । गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र जटिल अवस्था देखिए समयमै पहिचान गरी आमा र शिशुको स्वास्थ्य अवस्था समाधान गर्न यो सेवाले टेवा पुग्ने उहाँले बताउनुभयो । यूएसजी मेसिनसहित तालिम प्राप्त स्वास्थ्यकर्मीको उपलब्धतापछि आजदेखि यो सेवा शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

पाल्हीनन्दनसहित रामग्राम, सरावल तथा भारतबाट आउने गर्भवती महिलालाई समेत यो सेवा निःशुल्क सेवा प्रदान गरिने डा.गुप्ताले बताउनुभयो । यो सेवा तालिम प्राप्त स्वास्थ्यकर्मी रेनु कार्की पन्थी र सुभद्रा केसीबाट सञ्चालन हुनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

