काठमाडौं , २९ पुस
हालै ई. राम विन्दु श्रेष्ठद्वारा लिखित संस्मरणात्मक कृति “मेरा सोभियत संझनाहरु” विमोचन भयो।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विमोचन कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री नीलाम्बर आचार्यले यो पुस्तक यात्रा मात्र हैन, नियात्रा मात्र हैन, यो सोभियत संघको सम्झना मात्र हैन, यो चिन्तन पनि हो, केही खोज्ने क्रम पनि हो भन्नुभयो।
उहाँले पुस्तकले सोभियत संघको उतार चढावपछिको मनोविज्ञानबारे चर्चा गरेको र साहित्यमा अनुराग राख्नेका लागि मात्र नभई राजनीतिमा चासो राख्नेहरूका लागि पनि उपयोगी हुने बताउनुभयो।

“पुस्तकमा लेखकको मानवीय प्रेम, संवेदना झल्किएको छ। मलाई लाग्छ यो सोभियत संघले दिएको महत्वपूर्ण शिक्षा हो, त्यहाँको शिक्षा, संस्कार र अनुभवको देन हो जुन अमूल्य छ,”आचार्यलेभन्नुभयो।
कार्यक्रममा आफ्नो भनाइ राख्दै लेखक ई. राम विन्दु श्रेष्ठले “ सोभियतहरूको देश अब छैन, त्यो इतिहासको गर्भमा विलिन भयो; बाँकी विश्वभन्दा पृथक त्यो दुनिया अब रहेन ; १९८० पछिका पिँढीहरूमा त त्यो स्मरणमा पनि हुनेछैन; विलुप्त प्रायः भैसकेको सोभियत जीवन सम्झेर बारम्बार भैरहने नोस्टाल्जिया र अहिले विश्वमा चलिरहेको इतिहास तोडमरोड गर्ने हुरीले आफूलाई संस्मरण लेख्न प्रेरित गरेको बताउनु भयो।
पुस्तक बारे समीक्षा राख्दै नेपाल रुस साहित्य समाजका महासचिव ई. चन्द्रकान्त आचार्यले “….धेरै यात्राका प्रसङ्ग अति रोचक नियात्रा शैलीमा लेखिएका छन्। त्यसैले यो कृति स्तरीय बनेको छ….।” भन्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा.खेम कोइराला बन्धुले लेखकले संस्मरण, नियात्रा मार्फत तत्कालीन सोभियत संघका संस्कृति, इतिहास, भू्गोल, समाज र साहित्य लगायत विविध आयाम समेटेको र आफ्नो स्मृति इमान्दारीपूर्वक प्रस्तुत गरेको बताउनु भयो।
यसै गरी कार्यक्रममा मन्तव्य व्यक्त गर्दै ई. नहेन्द्र प्रधानले पुस्तकमार्फत रुस नपुगेकाहरूले पनि त्यस बारे जान्न पाउने बताउनु भयो।
नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा.डा.जंगब चौहानले साथी राम विन्दुव्दारा लिखित यो पुस्तक उहाँको जीवनयात्राको अत्यन्त महत्वपूर्ण कालखण्डको दस्तावेज हो।
यो उहाँको जीवनको सबैभन्दा महत्वपूर्ण अवसर पनि हो भन्दै पुस्तक श्रेष्ठको साहित्यप्रतिको अनुरागका कारण पाठकको ध्यान अन्तिमसम्म केन्द्रित गर्ने खालको रहेको बताउनु भयो।
कार्यक्रमको सञ्चालन साहित्यकार प्रभा बरालले गर्नु भएको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

