Rashtriya Dainik

भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुने

पाेखरा , १६ पुस
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन हुने भएको छ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि जनवरी १ मा उद्घाटन गर्न लागिएको हो। पोखरा महानगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ।

उद्घाटन समारोहमा व्यापक जनसहभागिता गराइने महानगरका मेयर धनराज आचार्यले जानकारी दिए। “विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन समारोह पोखराका लागि उत्सव हो। पोखरेलीको साथ र सहयोगबाट लामो प्रतिक्षापछि निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउने छौँ, बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा आग्रह गरेका छौं,” मेयर आचार्यले भने।

पोखरा महानगरले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको र्‍यालीको आयोजना गरिने जनाएको छ। त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने मेयर आचार्यले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए। निर्देशक गौतमका अनुसार विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए। “कति ‘विजेनश’ प्राप्त हुन्छ त्यसका आधारमा विमानस्थल सञ्चालन गर्ने हो। हामी सन् २०२३ फेब्रुअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौं,” गौतमले भने।

नेपालको निजी विमान सञ्चालक कम्पनी बुद्ध एअरले विमानस्थल उद्घाटनका दिनमा भारतको बनारस उडानका लागि देशभित्र सबै प्रक्रिया पूरा गरे पनि भारतबाट अनुमति प्राप्त नभएकाले पहिलो दिन अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमले जानकारी दिए।

चीनको एक्जिम ब्यांकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो। विमानस्थलका लागि भनेर २०३२ सालमा पहिलोपटक तीन हजार एक सय रोपनी जमिन अधिग्रहण गरिएको थियो। जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया शुरू भएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित