Rashtriya Dainik

आज तमु ल्होसार, गुरुङ्ग समूदायको नयाँ वर्ष

१५ पुस
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ जनाउँदछ । शाब्दिक रुपमै आज गुरुङ्ग समूदायको नयाँ वर्ष रहेको प्रष्ट छ । यस समुदायमा चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । यसपटक तमु गुरुङ समुदायले ’तो ल्हो’ अर्थात बाघ वर्गको बिदाइ गर्दै ’हि ल्हो’ अर्थात बिरालो वर्गको स्वागत गरेर भव्य रूपमा मनाउदै छन् । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा हि–ल्हो (भौ बर्ग/बिरालो बर्ग रहनेछ ।

हरेक वर्षझैं यस वर्ष पनि ’हि ल्हो’ (बिरालो वर्ग) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्परा अनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गर्नेगर्दछन् । विशेषतः बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान गौतम बुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् । बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्ति/धूप बालेर भगवानको अर्चना गर्दे, मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् ।

विश्व मानचित्रमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका छन् । चाहे विश्व यूद्ध होस् या आतङ्कवाद विरुद्धको कुनै लडाई, चाहे अमेरिकी सैनिक हुन् या बेलायती, भारतीय या विभिन्न अरु देशका, तमु समुदायका यूवाहरु अनि तिनका पहिचानको विश्वले विभिन्न कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ । मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आज शुक्रबारबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्नेगर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ’ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ’ल्हो’ को स्वागत गर्ने चलन छ ।

विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर, जङ्गलको रुखमा बाँध्ने चलन छ । तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । यो अन्त्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रीक अभ्यास भएको संस्कृतिका रुपमा मान्न सकिन्छ, जुन एउटा ठूलो सम्पत्ति पनि हो । आजभोली शहरमा गल्लीपिच्छे देखिने सस्ता अनि हो–हल्लामात्र हुने रोधीघरहरुले भने तमु समूदायको यो शालिन र सभ्य संस्कारको गहिरो तहलाई बुझ्न सकेका छन् या छैनन, मनन गर्न जरुरी छ । प्रथम दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिईन्छ र ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा तथा विमर्श आदि पर्दछ । विशेष परिकारहरुमा सेलरोटि, अचार, मासु, रक्सी आदि पर्दछन् ।

बाँसको टोकरीमा राखेको सेलरोटी अनि तामा या पित्तलको भाँडामा राखेको अचार, तरुल लगायत कन्दमूल अनि मासुको स्वादले नेपालीपनको अद्भूत आनन्द दिन्छ । जाडोको यो मौसममा छ्याङ, तोङबा अनि कोदोको थोरै मदिराको हल्का मादकताले यो चाडको रौनकता अनि रोचकतालाई अझै रसिक बनाउँदछ । स्यो कैँ तमु ल्होसारका दिन गुरुङ समुदायमा खाइने विशेष प्रकारको परिकार हो जस्मा एउटा मात्र खाना नभईकन बिभिन्न प्रकारका खानाहरु तर समुहमा पैसा उठाएर बनाउने चलन हुन्छ । यसभित्र मासु–भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन् । स्यो कैँ को अर्थ नेपाली संगै बसेर खानु भन्ने लाग्दछ । पुस १५ देखि दिन लामो हुने, चिसो घट्ने र नयाँ वर्षको सुरुवात हुने मान्यताअनुसार स्यौ कैँ खाने गरिएको हो । यी बाहेक नयाँ वर्षमा खिउनी, सेल, नारेपा, झिलिंगा, आलुदङ आदिजस्ता पम्परागत खाना खाने गरिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित