Rashtriya Dainik

महानगर प्रहरी प्रमुख पाण्डेविरुद्ध महिला हवल्दारद्वारा दुर्व्यवहारकाे उजुरी, छानविन सुरू

काठमाडौं ,१४ पुस

काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध उजुरी परेपछि छानविन समिति गठन भएको छ । पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् ।

पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको र तथा नाम गाली गर्दै ‘तैले मेरो बच्चा पाको होस् र ? जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिनू’ भनेर दुर्व्यवहार गरेको आरोप पीडित पक्षको छ ।

मंगलबार महानगरपालिका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

मानन्धरका अनुसार न्याय प्रशासन विभागको कर्मचारी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य रहेको समिति गठन भएको हो ।

७ दिनभित्र पाण्डे माथि छानविन गरेर समितिले प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन बुझाउनुपर्ने छ ।

महिला नगर प्रहरी हवल्दारको निवेदनपछि महानगरले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । पाण्डेले पुस ५ गते आफूबाट गल्ती नभएको भन्दै स्पष्टीकरण बुझाएका थिए ।

समितिको निर्णयको बारेमा प्रतिवेदन आएपछि मात्रै भन्न सकिने मानन्धरले बताए । यस विषयमा विवाद भएपछि नगर प्रहरी प्रमुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै नगर नायब निरीक्षक लोकनाथ चुँडालले राजनीनामा नै दिएका थिए । उनले नगर प्रहरीहरुमाथि माथिल्लो तहबाट पटक-पटक पीडा र दुर्व्यवहार भएपछि राजीनामा दिएको बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित