लुम्बिनी , १४ पुस ।
सत्ता साझेदार मुख्य दुई दल एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारस बाँडफाँडमा मोटामोटी सहमति जुटेको छ । दुई मुख्य दलबीच सातै प्रदेशमा मुख्यमन्त्रीको भागवण्डा गर्ने विषयमा बुधबार करिब सहमति बनेको हो ।
सहमति अनुसार एमालेले चारवटा प्रदेशमा सरकारको नेतृत्व गर्ने छ भने माओवादी केन्द्रले दुईवटा प्रदेशमा मुख्यमन्त्री लिने समझदारी भएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा यस्तो समझदारी भएको बताइएको छ । यद्यपि लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको पनि दावी छ । एमालेले लुम्बिनीको मुख्यमन्त्री लिए माओवादीले वागमतीको लिने छ ।
मधेश प्रदेशमा भने सरकारको नेतृत्व अन्य दलले आलोपालो गर्ने गरी ओली र दाहालले समझदारी गरेको बताइएको छ । जसअनुसार साढे दुईवर्ष जसपा र अर्को साढे दुई वर्ष जनमत पार्टीले सरकारको नेतृत्व गर्ने छन् ।
एमाले स्रोतले दिएको जानकारी अनुसार एमालेले प्रदेश १, बागमती, गण्डकी र कर्णालीको मुख्यमन्त्री लिनेछ । त्यस्तै माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिनेछ ।
यद्यपि यो सहमति भने सार्वजनिक गरिएकको छैन । मौखिकरुपमा दुई नेताबीच यस्तो समझदारी बनेको माओवादी केन्द्रका एक नेताले दावी गरे । प्रदेशका मुख्यमन्त्रीहरू पनि केन्द्रको जस्तै आलोपालो गर्ने विषयमा समझदारी भए पनि त्यसमा भने ठोस निर्णय भएको छैन । एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, बागमतीमा जगन्नाथ थपलिया, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यमलाल कँडेल मुख्यमन्त्रीका लागि तयार छन् ।
माओवादीबाट सुदुरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्नेछन भने लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

