उमेश बि.क / नवलपरासी , १३ पुस
देशभर चिसो बढेको छ । जाडो याममा खास गरी तराईमा शीत लहरबाट नागरिकको मृत्यु हुने गरेको छ ।
चिसो सुरु भएसँगै खास गरी तराई क्षेत्रका नागरिकको चिन्ता बढ्छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन ५ काे जगराती हरिजनले शित लहर नै सुरु नभए पनि बढेको चिसोले रात कटाउन गाह्रो हुँदै गएको बताउनुहुन्छ । ‘हामी जस्तो गरिबसँग न न्यानो कपडा छ न त गतिलो बास, कसरी कटाउने होला यो जाडो ।’ चिसो याममा भोग्नुपर्ने सास्ती कम गर्न पालिकाले प्रभावकारी योजना बनाउनुपर्ने आवाज बर्सेनि उठे पनि त्यसको सुनुवाइ नभएको नागरिकको गुनासो छ ।
चिसोका कारण विशेष गरी न्यानो कपडा र पौष्टिक खानेकुराको जोहो गर्न नसक्ने नागरिकलाई सास्ती हुन्छ । शीत लहर र चिसोका कारण बर्सेनि नागरिकको मृत्यु हुने गरे पनि जनप्रतिनिधि शितलहर सुरु भएपछि मात्रै ‘न्यानो सहयोग’ गर्ने योजनामा रहेको देखिन्छ ।
बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगी मात्र होइन जाडोका कारण शरीरको तापक्रम कम भए सामान्य मानिसको समेत मृत्यु हुने डाक्टर बताउँछन् । सामान्यतया मानिसको शरीरको तापक्रम ८२ डिग्री फरेनहाइटभन्दा कम भएमा मृत्यु हुने जोखिम हुन्छ । चिसोका कारण शरीरको तापक्रम घट्दै जान्छ । शरीरलाई न्यानो बनाउने साधन नहुँदा विपन्न नागरिकको मृत्यु हुने गरेको छ ।
चिसाे बढेपनि स्थानीय तहले न्यानाे कपडा र आगो ताप्न दाउरा वितरण गर्न अत्तोपत्तो छैन् ।
शीत लहरबाट नवलपरासी, कपिलवस्तु , रुपन्देही , रौतहट, बारा, पर्सा लगायत जिल्ला बढी प्रभावित हुने गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले शितलहर लगायत मौसमको जानकारी गराउँदै आए पनि सबै जिल्लामा विशेष कार्यालय नहुँदा पनि समस्या रहेको जनप्रतिनिधि गुनासो पाेग्छन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला १० वर्षमा १ सयभन्दा बढी नागरिकको चिसोका कारण मृत्यु भएको छ ।
नागरिकलाई चिसोबाट जोगाउन बर्सेनि न्यानो कपडा र दाउरा वितरण गर्ने गरिएको छ तर, दिगो समाधानको उपायको खोजी गरेको भने पाइँदैन । शितलहर सुरु भएपछि न्यानो सहयोग वितरण गर्ने पालिकाको तयारी आगलागी भए पछि दमकल बोलाउने जस्तो मात्र छ । शितलहर चल्नु अघि नै नागरिकलाई त्यसबाट बच्न न्यानो सहयोग दिने बारे पालिकाले कुनै सुरसार नगरेको जनप्रतिनिधि नै बताउँछन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

