Rashtriya Dainik

पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

नवलपरासी ,९ पुस । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् ।

प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार नारायणगढ बुटवल सडक विस्तार र निर्माण, समय समयमा आउने हावाहुरी, पानी, चट्याङका कारण जिल्लाका विभिन्न स्थानका क्यामेरा बिग्रिएका हुन् ।

कावासोती नगरपालिकामा जडान भएका ३३ मध्ये १६, देवचुलीका १०, मध्यविन्दु नगरपालिकाका ११ मध्ये चार, विनयी त्रिवेणीका १२ मध्ये नौ र गैंडाकोट नगरपालिकाका ४९ मध्ये २९ सिसी क्यामेरा बिग्रिएर काम नगर्ने भएका हुन् । गण्डक ब्यारेजको चारवटै सिसी क्यामेरा बिग्रँदा सीमानाकामा समस्या भएको छ ।

गैंडाकोटदेखि दाउन्नेसम्म करिब ६५ मुख्य सडकखण्ड पर्ने भएकाले सवारी दुर्घटना, लागुऔषधसहितका आपराधिक गतिविधि नियन्त्रण गर्न सिसी क्यामेरा प्रभावकारी भए पनि पछिल्लो समय क्यामराले काम नगर्दा केही असहज भएको बताइएको छ । बिग्रिएका सिसी क्यामेरा मर्मत प्रहरी एक्लैले गर्न नसक्ने भएकाले विशेष गरेर स्थानीय तहसँग समन्वय गरिएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारको काम सकिएपछि सडक सुरक्षाको लागी सिसी क्यामेरा झनै महत्वपूर्ण हुने भएकाले थप सिसी क्यामेराका लागि सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनसँग आवश्यक समन्वय गरिरहेको र निर्माण कम्पनी सकारात्मक रहेको तिवारीले बताए । कालीगण्डकी डाइभर्सनको काम पनि अन्तिम चरणमा पुगेकाले योसहित पहाडी क्षेत्रका सडकका मुख्य नाकामा सिसी क्यामेरा जडानको योजनामा आफूहरु रहेको उनको भनाइ थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित