Rashtriya Dainik

भारतबाट ५ हजार मेट्रिक टन युरिया मल नेपाल भित्रियो

कृषि सामग्री कम्पनीको ५ हजार मेट्रिक टन युरिया मल भित्रिएको छ । भारतको विशाखापटनम बन्दरगाह हुँदै आएको युरिया मलको पहिलो र्‍याक शनिबार र दोस्रो र्‍याक सोमबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले बताए ।

एउटा रेल्वे र्‍याकले सामान्यतया २ हजार ५ सय मेटन मल बोक्छ । भारतको आईपीएल कम्पनीले ग्लोबल टेन्डरबाट कम्पनीको ३० हजार मेटन युरिया मल आपूर्ति गर्ने ठेक्का पाएको हो । उसले ओमानबाट खरिद गरी उक्त मल नेपाल ल्याएको हो ।

कुल ३० हजार मेटनमध्ये २२ हजार ५ सय मेटन मल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आउँदै छ । त्यसमध्ये १२ हजार मेटन वीरगन्ज, १० हजार ५ सय मेटन भैरहवा प्रादेशिक कार्यालयले पाउनेछ । भैरहवाका लागि वीरगन्जबाट ढुवानी गरी मल लगिनेछ । बाँकी ८ हजार ५ सय मेटन विराटनगर प्रादेशिक कार्यालयले पाउने उनले बताए । विराटनगरको मल सोही नाकाबाट पुग्दै छ ।

वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा भित्रिएको युरिया मल माग भएका जिल्लाहरूमा परिचालनसमेत हुन थालेको कुमार बताउँछन् । ‘माग भएका जिल्लाहरूमा मल परिचालनको कामसमेत सुरु भइसकेको छ,’ उनले भने, ‘हेटौंडा, सिन्धुली, भरतपुर, जनकपुर, चन्द्रपुर, ढल्केवर, सिन्धुली, कलैया, पर्वत र दमौली कार्यालयहरूमा समेत गरी ५ सय ३५ मेट्रिक टन मल परिचालन भइसकेको छ ।’

गहुँ बाली सिजनका लागि यो मलको माग आउन थालेको र माग भएका जिल्लाहरूमा क्रमशः परिचालन भइरहने उनले बताए । मल भित्रिने क्रम जारी रहेकाले २ साताभित्र वीरगन्ज आउने २२ हजार ५ सय मेटन मल आइसक्ने सम्भावना रहेको उनले बताए । यसबाहेक भारत सरकारसँग जीटुजीमार्फत पनि थप ३० हजार मेटन युरिया मल खरिद गर्ने प्रक्रिया चलिरहेकाले त्यो मल पनिगहुँ बाली सिजनकै लागि उपयोगी हुने गरी आउन सक्ने सम्भावना रहेको उनले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित