Rashtriya Dainik

पत्रकारसँग निर्बाचन आचारसंहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

उमेश बि.क / नवलपरासी , २० कार्तिक

पश्चिम नवलपरासीमा निर्वाचनमा मिडिया र पत्रकारको भूमिका र निर्वाचन आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय परासीको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगले हालसम्म गरेका गतिविधि, सञ्चार माध्यमको भूमिका, पत्रकारले गर्नुपर्ने आचारसंहिता लगायतको विषयमा प्रस्ट्याइएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाबारे पश्चिम नवलपरासीका पत्रकारलाई अभिमुखिकरण गरिएको छ ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले निर्वाचनमा मिडिया र पत्रकारको भुमिका र निर्वाचन आयोगको अपेक्षाबारे जानकारी गराउनुभएको थियो । उहाँले संचार माध्यमहरुले समाचार प्रकाशन वा प्रसारण गर्दा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो

पूर्वाग्रह वा कुनै स्वार्थका आधारमा संचार माध्यमले मतदाता प्रभावित पार्ने खालको भ्रामक सूचना प्रकाशन र प्रसारण गर्न नहुने उहाँले बताउनुभयो । संचार माध्यमले निष्पक्ष ढंगबाट समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने उहाँको जोड थियो ।

कार्यक्रममा निर्वाचन आयोगले हालसम्म गरेका गतिविधि, सञ्चार माध्यमको भूमिका, पत्रकारले गर्नुपर्ने आचारसंहिता, निर्वाचन रिपोर्टिङ लगायतको विषयमा प्रस्ट्याइएको थियो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकारी खत्री र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अध्यक्ष हरि शर्माले गर्नुभएको थियो ।

उक्त अवसरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश खडानन्द तिवारीले सञ्चारमाध्यमको सहयोगले निर्वाचन सहज,संयमित र मर्यादीत रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले नवलपरासीमा निर्वाचन निष्पक्ष र भयरहित ढङ्गबाट सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो उहाँले मतदाता शिक्षा कार्यक्रमलाई सञ्चारमाध्यमबाट प्रबर्द्धन गर्न आग्रह गर्नुभयो । मतदानका लागि चल्न पाउने सवारी साधन र पासको हकमा केही दिनमै निर्णय हुने उहाँले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा १२० मतदान स्थलमा २८७ स्थायी र एउटा अस्थायी (जिल्ला कारागार) मतदान केन्द्र रहेका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीमा कूल दुई लाख ४० हजार ९३० मतदाता रहेका छन् । जसमा पुरुष एक लाख २१ हजार ८६१ महिला एक लाख १९ हजार ६५ र अन्य ४ जना मतदाता छन् ।

पश्चिम नवलपरासीको क्षेत्र नं. १ मा कूल मतदाता एक लाख १८ हजार २५० र क्षेत्र नं. २ मा एक लाख २२ हजार ६८० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख खत्रीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित