Rashtriya Dainik

सीमापारि दसैँको रौनक, वारि सुनसान

उमेश बि.क / नवलपरासी , १४ असाेज

दसैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि ।

दसैंको मुखमा पनि पश्चिम नवलपरासीको मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम परासी , सुनवल, बर्दघाट, भुमही, गाेपिगन्ज लगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् ।

दसैंलाई सस्तो, राम्रो र आकर्षक सामग्री खरिदका लागि भन्दै नेपालीहरु सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीको समस्या विगतका वर्षभन्दा कम छैन यतिखेर । सीमापारिका ठुठिबारी, बरगदवा, भैसालाेटन , झुलनिपुर लगायतका भारतीय बजारमा यतिखेर नेपालीको बाक्लो चलहपहल देखिन्छ ।

दसैँका लागि अत्यावश्यक वस्तुदेखि विलाशिताका सामग्री किन्न नेपाली भारतीय बजारमा निर्भर देखिन्छन् । यसपालिको दसैंमा नेपालमा हरेक सामानमा मूल्य बढेको छ । त्यसैले पनि भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षण बढेको हो ।

मुख्यगरी नेपाली उपभोक्ताहरु लत्ताकपडा, जुत्ता चप्पल, चिनी, दाल, तेल तथा टिभी, फ्रिजसम्म किन्न भारतीय बजार धाउँछन् । सीमापारिका बजारमा पाइने वस्तु नेपाली बजारमा महँगो हुने भएकाले आफू भारतीय बजारतर्फ आकर्षित भएको सुनवल नगरपालिका–१२ की सबिता भुषालले बताइन ।

‘नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा दुई हजार बढी पर्दैन, दसैं खर्चिलो छ, बचत त गर्नैपर्‍यो’, बर्दघाटबाट ठुठीबारी किनमेलका लागि गएकी पार्वती सुनाले भनिन् ।

खाद्यान्न वस्तुहरु पनि सस्तो भएकाले उपभोक्ताहरु भारतीय बजारमा आकर्षित हुने गरेको देखिन्छ । जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल सञ्चालन गरेमा उपभोक्ता भारतीय बजारमा कम जाने उपभोक्ता हकहित संरक्षण मञ्चले जनाएको छ ।

भारतीय बजारभन्दा पनि सस्तोमा लत्ताकपडा दिए पनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको भटवलियामा कपडा पसल सञ्चालन गरेर बसेका बिष्णु चाैधरीले बताए । भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महसुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महँगो हुन जाने उनको भनाइ छ ।

महेशपुर भन्सार कार्यालयका अनुसार एक सातामा जिल्लाका विभिन्न सीमानाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ । दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सारसमेत नतिर्दा राज्यलाई समेत लाखौँ राजश्व घाटा लाग्ने गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित