वीरगंज ,१४ असोज ।
वीरगंज महानगरपालिकाले बिहिवार देखि महानगर क्षेत्र भरि पूर्णरूपमा वृक्षारोपण गर्ने कार्यको थालनी गरेको छ । नेपाल भारतको मुख्य नाका मितेरी पुल देखि शंकराचार्य गेट हुदै बृक्षारोपण सुरु गरेको छ ।
साहिब दरबार सेवा संस्थानका संस्थापक देवेन्द्र सिंहको प्रमुख आतिथ्यतामा नेपालकै मुख्य प्रवेशद्वार शंकराचार्य गेटबाट बृक्षारोपण गरेर अभियानको सुरु गरिएको हो । अभियानको सुरुवात गर्दै वीरगंज महानगरका मेयर राजेशमान सिंहले महानगरलाई हरित सहर बनाउन सडकका दायाँबायाँका साथै सार्वजनिक खाली स्थानमा बृक्षारोपण गरिने बताए ।
वृक्षारोपणले वातावरण प्रदुषण नियन्त्रणमा सहयोग गर्नुका साथै नगर पनि सुन्दर र हरियाली देखिने हुँदा पूरै महानगरभर बृक्षारोपण थालिएको उनले बताए । नगर हरियाली बनाउन कटहर, जामुन, पिपल, म्यागो स्टिक, गुल्मोर, कटहर, निम, अशोक लगायत विभिन्न प्रजातिका ५ हजार बिरुवा रोपिने महानगरले जनाएको छ ।
बृक्षारोपणका लागि महानगरले चालु आर्थिक वर्ष २०७९÷०८० मा १ करोड रकम बिनियोजन गरेको छ । यो वर्षको बजेटले ५ हजार बिरुवा रोप्न सकिने र वन तथा वातावरण मन्त्री प्रदीप यादबले पनि वीरगंजमा बृक्षारोपण गर्न थप बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले नगरका ३२ वटै वडामा बृक्षारोपण गरिने महानगरले जनाएको छ ।
महानगरले हरेक वडामा बृक्षारोपणका लागि वडालाई नै बिरुवा जिम्मा लगाएको छ । वडाले आवश्यक स्थान तय गरेर बिरुवा रोप्ने छ । रोपिएको बिरुवा हुर्काउनका लागि हेरचाह गर्ने जनशक्ति पनि महानगरले खटाएको छ । बृक्षारोपणको अभियानसँगै महानगरले मुख्य प्रवेशद्वार शंकराचार्य गेट पनि सफाई गरेको छ ।
कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, वडाध्यक्षहरु संजु छततकुली, महबुब इलाही अन्सारी, मनोज यादब, रामकिशोर सिंह पराग लगायत जनप्रतिनिधि एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

