९ असार, जनकपुर । रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल आज जनकपुरधाम आउँदै छ । भारतीय पर्यटकहरु सवार ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल आज दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ ।
जनकपुर रेल स्टेसनमा उनीहरुलाई स्वागत गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।
उनीहरुको सुरक्षाका लागि जनकपुरमा विशेष प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘जयनगरमा ११ बजे आइपुग्ने भनिएको छ, त्यहाँबाट जनकपुर आइपुग्दा १ जति बज्ला कि भन्ने अनुमान छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हामीले आवश्यक सुरक्षा प्रवन्ध मिलाएका छौं ।’ सो रेलमा सवार करिब ५ सय पर्यटक एक रात जनकपुरमा बस्ने प्रजिअ पौडेलले बताए ।
भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गरेको छ । उनीहरुलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराउने तयारी छ ।
भारतीय पर्यटक सवार रेल मंगलबार साँझ नयाँदिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको थियो । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै आज जनकपुर आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ ।
सो रेलको सबै १४ डिब्बामा भारतीय लोककला, सँस्कृति, परम्परा, सम्पदाल झल्काउने तस्वीर राखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

