Rashtriya Dainik

एमसीसीबारे गृहमन्त्रीको जिकिरः ट्रान्मिसन तारबाट विजुली आउँछ सेना होइन

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट अनुमोदन भएको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण नेपालमा अमेरिकी सेना नआउने दाबी गर्नुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्दै एमसीसीका कारण नेपाली भूमिमा अमेरिकी सेना आउनै नसक्ने बताउनु भयो ।

नेपालकै विकासको लागि एमसीसी अनुमोदन भएको प्रष्ट पार्दै गृहमन्त्री खाँणले भन्नुभयो ‘एमसीसी आयोजनाबाट यहाँ विजुली विस्तार हुने हो । ट्रान्समिसन लाइन विस्तार हुने हो । भारत लगायतका देशलाई विजुली बेचेर बल्ल मुलुकको आर्थिक विकास हुन्छ ।’

अधिकांस समय एमसीसी अनुमोदनको प्रष्टिकरणमै खर्चनु भएका गृहमन्त्री खाँणले एमसीसीपछि उर्जा उत्पादन भइ नेपालको विकास हुने बताउनु भयो । उर्जा र पर्यटनको विकासविना नेपाल कहिल्यै विकास हुन नसक्ने बताउँदै उहाँले एमसीसी राष्ट्रबादको लागि भएको दावी गर्नुभयो ।

एमसीसी अनुदान पाउन नेपालले बिभिन्न परीक्षा उत्तीर्ण गरेको पनि उहाँको प्रष्टिकरण छ ‘एमसीसी जुन पायो त्यही देशले पाउँदैनन् । नेपालमा प्रजातन्त्र छ । लोकतन्त्र छ । समयसमयमा निर्वाचनबाट प्रतिनिधि चुनिन्छन् । एकदलीय तन्त्र छैन । त्यसैकारण नेपालले एमसीसी परियोजना पायो । यी मुल्य र मान्यता नभएका देशमा अमेरिकाले एमसीसी परियोजना लग्दैन । शंका लागेका कुरामा हामीले १२ बुँदे ब्याख्यात्मक घोषणा पत्र लेखेका छौँ । ढुक्क हुनुहोस् एमसीसीले विकास गर्छ । सेना ल्याउँदैन ।‘

एमसीसीको सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुशल नेतृत्व देखाएको बताउनु भयो । गिरिजाप्रसाद कोइरालाले शशष्त्र द्धन्द्ध कालमा माओवादीलाई शान्ति धारमा ल्याएर कुशल नेतृत्व प्रदान गरेजस्तै पार्टी सभापति देउवाले पनि अहिले गिरिजालेजस्तै कुशल नेतृत्व प्रदान गरिरहेको बताउनु भयो । एमसीसी मुलुकको विकासको लागि भएकाले यस्ता मञ्चमा बोल्दा उद्योगी, ब्यवसायीले कम्तिमा पनि २ मिनेट यसको बारेमा बोल्नु पर्ने र आवश्यक सुझाव सरकारलाई दिनुपर्ने बताउनु भयो ।

गृहमन्त्री खाँणले भाषणको क्रममा अब सरकारले विजुलीको मुल्य घटाउन लागेको बताउनु भयो । रुस र युक्रेनको लडाईका कारण नेपालमा महङ्गी बढेको भन्दै उर्जा संकट कम गर्न विजुली बाल्नु पर्ने बताउँदै यसको लागि सरकारले चाँडै शुल्क घटाउने खाँणले बताउनु भयो ।

ब्यापारी ब्यवसायीको हक अधिकार र विकासको लागि अहिलेको सरकार प्रतिवद्ध रहेको बताउँदै कुनै पनि सरकारी कर्मचारीले ब्यापारी बयवसायीलाई असहयोग गर्न नहुने धारणा गृहमन्त्री खाँणको छ । कपिलवस्तुको विकासबारे खासै नबोल्नु भएका खाँणले लुम्बिनी प्रदेशको विकास भए मुलुकको विकास हुने धारणा राख्नुभयो । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको सुचारुपछि यहाँको उद्योग, पर्यटन र कृषिको विकास हुने उहाँको भनाई छ । उहाँले बुद्धस्थल तिलौराकोटसंग जोडिएका परियोजनाहरुको संचालन र विकास चाँडै गर्ने बताउनु भयो । नागरिकसंग भेटघाट गर्दै गृहमन्त्री खाँण फर्कनु भएको थियो ।

महोत्सवको उद्घाटन कार्यक्रम संघका अध्यक्ष एवम् संयोजक डोलकराम घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तथा निर्देशक छवि रेश्मीको स्वागत र महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न भएको थियो । महोत्सव बुद्ध रंगशालामा चैत्र १३ गतेसम्म लाग्ने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित