स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले मंगलबार सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको हो ।
‘स्थानीय तह निर्वाचन, २०७९ का लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकबाट स्वयं उपस्थित भई दरखास्त आह्वान गरिन्छ’, सूचनामा उल्लेख छ ।
म्यादी प्रहरीमा एक लाख भर्ना गरिने बताइएको छ । सार्वजनिक बिदा बाहेक यही चैत ६ देखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने जनाइएको छ । महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने छ ।
दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ । मुख्यगरी सुरक्षा निकायमा गत साउनदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई प्राथमिकता दिइने भएको छ ।
दरखास्तका लागि यही चैत १३ गते सम्पर्क गर्न भनिएको छ भने चैत १५ गतेदेखि छनोट प्रक्रिया सुरु गरिने सूचनामा उल्लेख छ । अन्तिम नतिजा भने यही २२ गते सार्वजनिक हुनेछ । चैत २८ गते प्रशिक्षण दिइने छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध गराइने छ ।
निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरुप प्रतिम्यादी प्रहरी (एक पटकका लागि) एक हजार रुपैयाँ दिइनेछ । बीमा लगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने सूचनामा उल्लेख छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

