होलीमा उच्छृङ्खल हुनेमाथि यसरी हुनेछ निगरानी
होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकामा ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर प्रमुख तथा महानगरीय ट्राफिक प्रहरी प्रमुखलाई होली सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिए ।
रङ र अबिरका साथ एकापसमा खुसियाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको जानकारी उनले दिए ।
जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन (मापसे) गरी सवारी चलाउने, झैझगडा गर्ने र महिलामाथि दुव्र्यवहार गर्नेमाथि कडा कारबाही हुनेछ । यसका लागि सुरक्षा व्यवस्था बलियो पारिएको छ ।
महानगरीय प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष राठौरले काठमाडौँमा एक हजार सात सय, ललितपुरमा छ सय र भक्तपुरमा चार सय जना सुरक्षाकर्मी खटाइएको बताउनुभयो । ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ । सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित चेकिङ गर्ने छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

