Rashtriya Dainik

पत्रकारको खाल ओढी ठगी गर्दै आएका तिवारी पक्राउ

रन्जित चाैरसिया / बिरगन्ज (पर्सा), २१ माघ ।
पर्सा जिल्लामा पत्रकारको खाल ओढेर ठगी गर्दै आएका प्रकाश तिवारी भनिने पप्पु तिवारी पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका वडा नं. १७ अलौं सिर्सिया घर भई वीरगन्ज बस्दै आएका तिवारीले विभिन्न काम गराई दिने प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गरेको आरोपमा बारा जिल्लाको जितपुर स्थित प्रहरीले पक्राउ गरेको हो ।
विगत लामो समयदेखि पत्रकारिताको आडमा तस्करी, ठगी गर्दै आएका तिवारी विरुद्ध जितपुर सिमरा उप महानगरपालिकामा पर्ने डुमरवाना स्थितकै एक स्थानीयले आफू ठगिएको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जितपुर स्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनी विरुद्ध इलाका प्रहरी कार्यालयले बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान गरि रहेको प्रहरी नायब उपरीक्षक कुँवरको भनाई छ ।
उनका अनुसार डुमरवानाका एक नागरिकले आफूले तिवारीसँग लिनुपर्ने पैसा नदिएको र बाउन्स चेक दिएको भन्दै उजुरी दिएपछि आवश्यक अनुसन्धानको लागि प्रहरीले हिरासतमा लिएको बताए । उजुरीकर्ताले १० लाख रकम ठगेको दाबी गरेको छ । तिवारीले एकजनालाई होइन पर्साका अधिकाँश सोझासाझा व्यक्तिलाई विभिन्न बहानामा प्रलोभन देखाई ठगी गर्दै आएको बताइएको छ ।
तिवारी कुनै पनि सञ्चार प्रतिष्ठानमा आबद्ध नरही पत्रकारको नाममा ठगी एवं तस्करी गर्दै गराउँदै आएको बताइएको छ । वीरगन्जका केही राजनीतिक दलका झोले पत्रकारहरुको सेवा सत्कार गरि पत्रकारको खाल ओढेका तिवारीको वास्तविक अनुहार अहिले देखिएको छ । तिवारीले विगत लामो समयदेखि यस्ताखाले काम गर्दै आएपनि पत्रकारिताको डर त्रास देखाउँदै आएकोले उनी विरुद्ध कसैले उजुरी दिन आँट गरेका थिएनन् ।
तर डुमरवानाका एक व्यक्तिले उनी विरुद्ध उजुरी दिने वित्तिकै बारा प्रहरीले छानविनको लागि सोमबार नै पक्राउ गरेको थियो । पक्राउ परेका तिवारीलाई इलाका प्रहरी कार्यालय जितपुर सिमराले ७ दिनसम्म आफ्नो हिरासतमा राखेर अनुसन्धान गर्नेछ । इलाका प्रहरी कार्यालय सिमराले तिवारी विरुद्ध बैंकिङ्ग कसुर मुद्दा दर्ता गरि जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गराई अनुसन्धान गरि रहेको बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित