Rashtriya Dainik

चितवनमा गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

चितवन – सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

गएकाे आइतवार नालीको खोँचमा परेर गैँडा रेको थियो । त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहनुभएको छ ।

समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनेछ । हिजाे बिहीवारदेखि समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरूसँग छलफल थालेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार हिजाे भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग छुट्टाछुट्टै छलफल भएकाे थियो । आज सामुदायिक वनका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । त्यही ठेक्काअन्तर्गत सगुनले काम गरेको हो । सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरि काम गर्दा घटना भएको निकुञ्जले जनाउँदै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित