Rashtriya Dainik

वरिष्ठ कलाकार बिके नरबहादुरद्वारा बुद्धमंगल तालको बीचमा १२ फिट अग्लो बुद्धको मूर्ति निर्माण

उमेश कि.क / नवलपरासी ,१७ साउन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ दबिलामा अवस्थित बुद्धमंगल तालको बीचमा वरिष्ठ कलाकार बिके नरबहादुरले १२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरेका छन ।

बर्दघाट नगरपालिकाकाे अार्थिक सहयोगमा ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमंगल ताललाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी विकास अघि बढाइएको हाे ।

वरिष्ठ कलाकार बिके नरबहादुरले तालको बीचमा १२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरेका हुन् । तीन महिनामा मूर्ति निर्माण सम्पन्न भएको उनले बताए । “तालको बीचमा मूर्ति निर्माण आफैमा ऐतिहासिकता र चुनौती हो”, उनले भने, “यस किसिमका प्राचीन र कलात्मक मूर्ति र चित्रले बुद्धकालीन सभ्यताको झल्को मेटाउँछ, चित्रले त्यसबेलाको संस्कृति बोल्छ, मूर्तिको आफैँमा विशेष महत्व छ ।”

भगवान् गौतम बुद्धसँग जोडिएकाले यहाँको ऐतिहासिकता र पर्यटन विकासका लागि काम भइरहेको स्थानीयले जानकारी दिए । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्यको सम्भावना रहेको यस क्षेत्रमा अहिले तालको बीचमा बुद्धको ठूलो मूर्ति निर्माण कार्य सम्पन्न भएको छ ।

बुद्धकालीन सभ्यतालाई झल्काउने गरी तालको बीचमा बुद्धको मूर्ति राखिएको कमै स्थान रहेकाले पनि यसको विशेष महत्व रहेको स्थानीय बासिकाे भनाइ छ । नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा अहिले यहाँ तालको सौन्दर्यीकरण र पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । 

ताल क्षेत्र करिब सात बिघा क्षेत्रफलमा फैलिएको छ । ताल वरपर सरस्वतीको मन्दिर, शिवालय, बुद्धमार्गीको गुम्बा, १०८ शिवलिङ्ग, प्रतीक्षालय, सामुदायिक वन लगायतका प्राकृतिक तथा भौतिक संरचनाको निर्माण तथा विकास गरिएको छ । हाल यहाँ जलदेवी मन्दिरको निर्माणकार्य पनि भइरहेको छ।

थारू समुदायले विशेष आस्थाको रूपमा मान्दै आएको जलदेवीको मन्दिर पुरानो भएपछि अहिले स्थानीय राधाकृष्ण बुद्धमंगल ताल भजन समूहको पहलमा मन्दिर निर्माण थालिएको छ ।

सिमसार क्षेत्र भएकाले विविध जलचर र ताल किनारमा सामुदायिक वनको समेत विकास गरिएकाले चराचुरुङ्गीको बासस्थानका रुपमा यो ताल रहन पुगेको छ । त्रिवेणीबाट कपिलवस्तुसम्मको क्षेत्र लुम्बिनी बुद्ध परिपथ अन्तर्गत पर्ने अत्यन्त महत्वपूर्ण क्षेत्र हो । तसर्थ पनि यस क्षेत्रलाई बुद्धपरिपथमा समावेश गर्नुपर्ने आवाज उठ्दै आएको छ । लुम्बिनी घुमेर फर्कने आन्तरिक तथा विदेशी पर्यटकलाई नवलपरासीको रामग्राम स्तुप हुँदै यहाँसम्म ल्याउन सके यहाँको पर्यटन व्यवसाय तथा स्थानीयवासीको आर्थिक उन्नतिमा पनि  टेवा पुग्ने स्थानीयवासीको विश्वास छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित