Rashtriya Dainik

कांग्रेसको युवा नीतिमा बहसः सबै तहमा ४० प्रतिशत युवा सहभागिता हुनुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको युवा नीति मस्यौदा समितिले कांग्रेसमा युवा सहभागीता र उनीहरुको भूमिकाका विषयमा बहस गरेको छ ।

समितिले कांग्रेसको युवा नीतिको मस्यौदा तयार गरेर पार्टीका शीर्ष नेताहरुसहितसँग कांग्रेसले लिनुपर्ने नीतिका विषयमा बुधबार भर्चुअल बहस गरेको हो ।

रञ्जित कर्णको संयोजकत्वमा रहेको समितिले कांग्रेसको युवा नीति बनाएको हो । जसमा ४० वर्षसम्म उमेरका व्यक्तिलाई युवा मान्नु पर्ने, कांग्रेसका सबै तहका संरचनामा पदाधिकारीसहित ४० प्रतिशत युवा सहभागिता हुनुपर्ने उल्लेख छ ।

यसैगरी कांग्रेसले युवाहरुलाई उद्यमशिलताका लागि प्राथमिकतामा राख्नुपर्ने र पार्टी भित्र आबद्ध हुने युवालाई नो वर्क नो पोलिटिक्सको सिद्धान्त कायम गरिनु पर्ने विषय युवा नीति सम्वन्धि मस्यौदामा समावेश गरिएको छ ।

यसरी कांग्रेससँग आबद्ध हुने युवालाई दिनको तीन घण्टा र हप्तामा तीन दिन पार्टीका लागि र बाँकी समय उद्यमशिलता र व्यवसायीकताका लागि भन्ने सिद्धान्त अंगिकार गरिनु पर्ने नीतिको मस्यौदामा उल्लेख गरिएको छ । समितिका संयोजक कणर्ले कांग्रेसले यूवालाई पार्टीमा कसरी समेट्ने भन्ने विषय मस्यौदामा राखिएको बताए ।

उनले उद्यमशिलता अंगाल्ने युवा मात्रै कांग्रेसको सदस्य हुने र त्यस्तो सदस्य रहेको युवालाई पार्टीले हरेक संरचनामा पदाधिकारीसहित ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने विषय युवा  नीतिको मस्यौदामा राखिएको जानकारी दिए । 

सो भर्चुअल बहसमा कांग्रेसको केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विमलेन्द्र निधि, कांग्रेस सहमहामन्त्री डा.प्रकाशसरण महत, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, एनपी साउद, गगन थापा लगायतले धारणा राखेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित