Rashtriya Dainik

मेलम्चीका साढे चार सयभन्दा धेरै बाढी विस्थापित अस्थायी बासस्थानमा

असार ४, २०७८ शुक्रबार
काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीले विस्थापित बनाएकाहरुलाई मेलम्ची नगरपालिकाले खानाको व्यवस्था गरेको छ । मङ्गलवार राति आएको बाढीले विस्थापित भएकाहरुलाई समूह बनाएर विद्यालय भवन, सैनिक ब्यारेक तथा खाली जग्गामा पाल टाँगेर खाना खुवाउने व्यवस्था गरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।

अहिले साँढे चार सय जनाभन्दा धेरैले नगरपालिकाले सञ्चालन गरेको मेसमा खाना खाइरहेको उहाँले बताउनुभयो । मेलम्ची बजारका ७० भन्दा धेरै घर बाढीले बगाएको वा हिलोमा पुरिएका छन् । ती घरमा व्यवसाय गर्नेहरु तथा साना छाप्रा बनाएर व्यवसाय गर्नेहरु थुप्रै विस्थापित भएका र लगत सङ्कलनको काम भइरहेको मेयर अर्यालले बताउनुभयो ।

विस्थापितहरु घर फर्कन सक्ने अवस्था नरहेकाले नगरपालिकाले अझै लामो समय खाना खुवाएर अस्थायी बासस्थानमा राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । विस्थापितमध्ये धेरैजसोलाई नगरपालिकाले अस्थायी बसोबासको व्यवस्था गरेको छ भने केही खाना खाएर आफन्तको घर तथा आफूहरुले बनाएका अस्थायी संरचनामा बस्न जाने गरेका छन् ।

आज मौसम केही सफा भएकाले लगत सङ्कलन तथा राहतका काममा केही सहजता भएको मेयर अर्यालले बताउनुभयो । बाढीले मेलम्ची र हेलम्बुमा गरी १० वटा झोलुङ्गे पुल, ६ वटा पक्की पुल र सात वटा ट्राउट माछा फार्म बगाएको छ । मेलम्ची खानेपानी आयोजना र निर्माणाधीन मुनलाइन हाइड्रोपावरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

व्यक्तिका घर तथा व्यवसाय तथा बालीनालीमा भएको क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित